नेकपा नेताले महिलाको हत्या गरी कोसीमा फालेको खुलासा

नेकपा नेताले महिलाको हत्या गरी कोसीमा फालेको खुलासा

yogendra-gurung-ramila-rai

विराटनगर : नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ ।

फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ तीन दिनअघि इलामबाट पक्राउ परेका हुन् । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

 ‘हत्या हुँदा शव फेला पर्नुपर्ने हुन्छ । कोसी नदीमा फालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नुपर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’ नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उनले बताए ।

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो ।

त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds