सरकारले खटायो सिके राउतको सुरक्षा गर्न प्रहरी अधिकृत

सरकारले खटायो सिके राउतको सुरक्षा गर्न प्रहरी अधिकृत

ck-raut

सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग गर्दै आएका सीके राउत सुरक्षा चुनौतीका पात्र थिए। सेना र प्रहरीको आँकलन पनि यस्तै थियो।

तर यतिबेला राउत आफैं ‘सुरक्षा थ्रेट’ मा छन्। त्यसैले सरकारले उनको सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) दर्जाका एक जुनियर प्रहरी अधिकृत खटाएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा राउतलाई प्रहरी प्रधान कार्यालयले अंगरक्षक उपलब्ध गराएको हो। अंगरक्षकको आवश्यक प्रबन्धको छुट्टै प्रक्रिया छ। हालसम्मको प्रक्रियामा गृहले प्रहरी मुख्यालयलाई निर्देशन दिने र मुख्यालयको सुरक्षा सेवा निर्देशनालयले अंगरक्षक खटाउँदै आएको छ।

तर राउतलाई दिइएको अंगरक्षक गृहले सीधै प्रहरी महानिरीक्षकको सचिवालयमार्फत व्यवस्था गरेको छ। उनलाई अंगरक्षक खटाइएको बारे सुरक्षा सेवा निर्देशनालयका प्रहरी अधिकारी बेखबर छन्।

निर्देशनालयका एक उच्च अधिकृत भन्छन्, ‘यसबारे हामीलाई जानकारी दिइएको छैन र हामीले खटाएका छैनौं। विशेष ठाउँबाट आएकाले गोप्य राखिएको होला।’

राउतलाई अंगरक्षका केही दिनका लागि हो या सधैंका लागि भन्नेबारे प्रहरी मुख्यालय स्पष्ट छैन। मुख्यालयका ती उच्च अधिकृतले भने, ‘हामी सरकारको निर्देशनविपरीत जाने कुरा भएन। पहिला सीके चुनौती थिए, अहिले उनी आफैं थ्रेटमा देखिन्छन्।’

छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदा सीकेका पछाडि थुप्रै युवाशक्ति थिए। सरकारसँग गरेको सहमति राउतको मात्रै रोजाइ हो वा उनको विचारसँग होमिएका युवाशक्तिको हो ? सरकारसामु अहम् प्रश्न तेर्सिएको छ।

छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका सीके राउतसँग ११ बुँदे सम्झौतापछि सरकारले उनलाई अंगरक्षक दिएको हो। सर्वोच्च अदालतको आदेशमा डिल्लीबजार कारागारबाट बिहीबार छुटेका राउतसँग सरकारले छुट्टै वार्ता गरेको थियो।

वार्तापछि भक्तपुरस्थित काठमाडौं स्कुल अफ ल नजिकैको एक घरमा पुगेका राउतलाई सरकारले सुरक्षा प्रबन्ध गरेको थियो। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमति घोषणासभा पुग्दा सीके अंगरक्षककै साथमा थिए।

उच्च स्रोतका अनुसार राउतमाथि सुरक्षा थ्रेट आँकलन गरेर प्रधानमन्त्री कार्यालयकै निर्देशनमा गृहले सुरक्षा प्रबन्ध मिलाएको हो।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने यसबारे आफू अनभिज्ञ रहेको जबाफ दिए। उनले भने, ‘राउतलाई अंगरक्षक दिएको हुनसक्छ। म यसबारे जानकार छैन। सुरक्षा थ्रेटका हिसाबले स्थानीय प्रहरी खटाइएको होला।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds