फेवातालको पानीमा कोलिफर्म, प्राविधिक भन्छन्-‘दिसा भरिएको छ’

फेवातालको पानीमा कोलिफर्म, प्राविधिक भन्छन्-‘दिसा भरिएको छ’

fewa-lake-

पोखरा। फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ। संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव परीक्षणवाट फेवातालको पानीमा दिसाको मात्रा पाइएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले मानिस र गाइवस्तुले तालको पानी पिउन नमिल्ने पानी परीक्षणवाट खुलेको हो ।

‘फिजिकल, केमिकल र माईक्रो बायोलोजिकल प्यारामिटर हामीले अध्ययन गर्छौं । केमिकल र फिजिकल रुपमा ठीकै छ तर बायोलोजिकल हिसावले तालको पानी दुषित देखियो, आयोजनाका एसिस्टेन्स केमिष्ट सुनिल चौधरीले भने–बुझ्ने भाषामा भन्दा यो पानी पिउन मिल्दैन । माछाका लागि समेत यो पानी हानीकारक छ । पौडिनको लागि भने खासै समस्या छैन ।’ पोखराबाट प्रकाशित आदर्श समाज दैनिकले छापेको छ ।

अप्रिल २७ तारिखमा हुने एशियन कप ट्रायथोलन र साउथ एशिएन च्याम्पियनसीप ट्रायथोलनलाई मध्येनजर गरेर फेवातालको पानीको ल्याव टेष्ट गरिएको हो । १० दिनअघि फेवातालको बीचबाट पानी निकालेर ल्यावमा टेष्ट गरिएको चौधरीले जानकारी दिए ।

‘पानीको कडापन र अरु कुरामा समस्या छैन । स्विमिङका लागि उपयुक्त नै छ, उनले भने–तर पानी निल्नु हुँदैन । पानीमा दिशाका कणहरु भरिएको छ ।’ अघिल्लो बर्षभन्दा केही शुद्ध पानी भएकोले प्रतियोगितामा असर नगर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन् । ‘रिपोर्ट पोजिटिभ नै छ । यसले हामी उत्साही छौं, उनले भने–तर शुद्धिकरण भने पुगेको छैन । सरोकारवालाले सोच्ने बेला आएको छ ।’ अघिल्लो बर्षदेखि फेवातालको पानी टेष्ट गर्न थालिएको हो ।

जापानीज सहयोग नियोग जाईकाले तालको पानी पिउन अयोग्य रहेको रिपोर्ट धेरै बर्षअघि नै निकालेको हो । तर यसको शुद्धीकरणमा कुनै निकायको चासो पुगेको छैन । अघिल्लो बर्षभन्दा अहिलेको रिपोर्टले पानी केही शुद्ध देखाएको छ । सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने प्राविधिकहरु बताउँछन् । अघिल्लो बर्ष ८.७ रहेकोमा यो बर्ष ८.१ पिएच क्षार देखिएको छ । पानीमा धमिलोको मात्रा पनि सामान्य भन्दा निकै धेरै रहेको प्राविधिक चौधरीले जानकारी दिए । सही ब्यवस्थापन र निरीक्षण नभएका कारण लामो समयदेखि सर्वसाधारणको घरबाट निस्किने ढल सीधै फेवातालमा मिसिँदै आएको छ ।

पोखरा महानगरपालिकाले बर्षेनी ढल निकासको अनुगमन गरेपनि त्यसको सही निकास निकाल्न भने सकेको छैन। सेती नहरको पानी समेत सोझै फेवातालमा मिसिन्छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अर्को बर्षदेखि यो समस्या नआउने बताउँछन् । ‘फेवातालमा मिसिने सबै ढल डाइभर्सन गर्ने जिम्मा हाम्रो छ । यसका लागि मास्टर प्लान बनाईरहेका छौं, उनले भने–जेठभित्र डिपिआर गर्न सके आउँदो आर्थिक बर्षदेखि धमाधम काम थाल्छौं ।’

ढल डाइभर्सन र सिल्ट्रेसनको काम सँगसँगै गर्ने तयारीमा रहेको उनले सुनाए । ढल ब्यवस्थापन गर्न ६ अर्व लागत लाग्ने प्रारम्भिक अनुमान छ । त्यसमध्ये १५ प्रतिशत महानगरले ब्यहोर्ने छ भने बाँकी रकम ढल विभागले लगानी गर्नेछ । पोखराको बीचबाट बग्ने फिर्केखोला र बुलौंदी खोला फेवाताल प्रदुषणको मुख्य कारक हो । फेवाताल शुद्धिकरणका लागि यी दुवै खोला किनारबाट अबैध बस्ती हटाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ