भाग्यमानि सन्तोष : मजदुर दिवसकै दिन विना डिपोजिट नबिल बैंकले २३ अर्ब ७६ करोड खातामा हाल्दिएपछि बने अर्बपति

भाग्यमानि सन्तोष : मजदुर दिवसकै दिन विना डिपोजिट नबिल बैंकले २३ अर्ब ७६ करोड खातामा हाल्दिएपछि बने अर्बपति

santosh

इसिमोडमा कार्यरत वाटर एन्ड क्लाइमेट स्पेसलिस्ट सन्तोष नेपाल अहिले एकाएक सेलिब्रिटी बनेका छन् । बिहानदेखि उनलाई फोन उठाउँदाको हैरान छ। विभिन्न अनलाइनहरुले कहाँ कहाँबाट नम्बर पत्ता लगाएर तारन्तार मोबाइलमा कल गरेको गर्‍यै छन्। मोबाइलमा जवाफ दिँदादिँदा ब्रेकफास्टसमेत राम्रोसँग खान पाएनन् अफिसको गाडीसमेत झण्डै छुट्यो।

उनलाई मिडियाको आकर्षण बनाउने काम भने नबिल बैँकले गरिदिएको हो। नबिल बैँक अर्थात् नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको बहुमत सेयर रहेको बैँक। त्यही बैँकले उनलाई हिजो रुपैयाँ अर्बपति बनाइदियो। एक, दुई अर्ब हो र, २३ अर्ब रुपैयाँ उनको खातामा जम्मा गरिदियो।

अर्बपति बन्नुभयो भने तपाईँ के गर्नुहुन्छ? सन्तोषलाई भने त्यही बेलादेखि तनाव सुरु भयो।

को बन्छ करोडपति भन्दै टेलिभिजन कार्यक्रम सुरु भएको यत्रो महिना भइसक्दा पनि कोही करोडपति बन्न सकेका छैनन्। बढीमा लखपति नभए हजारपति भएर फर्किरहेका छन् प्रतियोगीहरु। तर सन्तोष नेपाल भने अचानक अर्बपति बन्न पुगे। मंगलबार साँझ उनको नबिल बैँकको खातामा २३ अर्ब ७५ करोड ९६ लाख ३३ हजार ७७६ रुपैयाँ ६६ पैसा जम्मा भयो।

मोबाइल बैँकिङ लिनुभएको छ भने कसैले तपाईँको खातामा रकम जम्मा गर्दा वा झिक्दा एसएमएस आउँछ। सन्तोषले आफ्नो खातामा जम्मा भएको रकम एसएमएसमा पाएका भने हैनन्।

आफ्नो ऋणको किस्ता बैँकले काट्यो कि काटेन हेर्न नबिल बैँकको अनलाइन एकाउन्ट चेक गरेका थिए उनले मंगलबार दिउँसो अफिसमै हुँदा। ‘हजार मात्र हुनुपर्ने मेरो खातामा केही लाख रकम देखियो’, उनी त्यसपछि झसङ्ग भए। फेरि रिफ्रेस गरे। रकम अझ बढ्यो, करोडमा पुग्यो। फेरि गरे, अब त झन् अर्बमा पुग्यो । रकम बढ्दा बढ्दै २३ अर्बमा पुगेर रोकियो ।

दुई वर्ष अघि युवा वैज्ञानिक अवार्ड पाएका डा. सन्तोषलाई थाहा भइसकेको थियो, यो सिस्टमको गल्ती हो। त्यसैले बैँकलाई सम्पर्क गर्न खोजे। तर बैँक बन्द भइसकेको थियो। बैँक बन्द भए पनि कार्ड डिभिजन भने २४ घण्टा खुला हुन्छ। उनले त्यसैमा सम्पर्क गरे।

खासमा यो कार्ड डिभिजनसँग सम्बन्धित विषय हैन। त्यही भएर सुरुमा उनले पाएको जवाफ फन्नी खालकै थियो- विदेशबाट कसैले जम्मा गरिदिएको होला!

पछि उनको सम्पर्क नबिल बैँकका डिजिटल हेड सनत पौडेलसित भयो। सन्तोषले आफ्नो मोबाइल नम्बर पनि दिएनन्, खाता नम्बर पनि दिएनन्। यस्तो भयो भनेर जानकारी दिए। एक घण्टासम्म फोनमा होल्डमै बसी कुराकानी भइरह्यो।

के कारणले यस्तो भयो त ?

उनका अनुसार बैँकले दिएको एक्सप्लेनेसन यस्तो थियो, ‘बैँकले रकम ब्रान्च ट्रान्सफर गर्दा र्‍यान्डमली नम्बर जेनेरेट भएर तपाईँको खातामा आएको हो।’ पत्याउनुको विकल्प थिएन।

सनतसित कुरा भएपछि २३ अर्ब रुपैयाँ फिर्ता भयो। पाँच घण्टासम्म अर्बपति भएका सन्तोषको खातामा रकम हजारमा झर्‍यो। भएको मेहनतले कमाएको १०/२० हजार रुपैयाँ खातामा देखेपछि ढुक्क भए उनी। अर्बपति हुँदाको तनाव हरायो, हजारपति भएपछि सुखको सास फेरे। राति ८ बजेर १९ मिनेटमा फेसबुकमा पनि लेखे, ‘बल्ल निद्रा राम्रो लाग्ने भो।’

नमागेको अर्ब रुपैयाँ आएपछि फिर्ता गराउँदाको तनाव त छँदैछ, केही रमाइलो पनि भयो। उनले हाँस्दै सुनाए, ‘छोराछोरीले अर्बपति हुँदा के के किन्ने भनेर गरेको फर्माइस पनि सुनियो। रमाइलो रह्यो।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ