२२ बर्षीया नेपाली युवतीको भारतको दिल्लीमा सामूहिक बलात्कार

२२ बर्षीया नेपाली युवतीको भारतको दिल्लीमा सामूहिक बलात्कार

Gang-rape

२२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियालाई उद्धृत गर्दै साउथ एसिया डट कमले बताएको छ । केही मिडियाले २४ वर्ष बताइएकी ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन्  ।

रिपोर्टका अनुसार काठमाडौंकी ती युवती बसमार्फत् नयाँ दिल्ली पुगेकी थिइन् । त्यहाँबाट उनी मुम्बई जान रेल चढ्ने तयारीमा थिइन् । यद्यपी, ढिला स्टेशन पुगेका कारण उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।

त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ । आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ ।

घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी   थिइन् ।  पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर थाहा थियो । उनले  आरोपीको फोन नम्बर र नाम  मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।

आरोपीले बलात्कारपछि पीडितलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ ।  मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे । युनाइटेड न्यूज एजेन्सीका अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ