तपाईंले विक्री गरेको सवारी साधनको नामसारी पनि दिनुस् ! नत्र यस्तो झमेलामा परिएला

तपाईंले विक्री गरेको सवारी साधनको नामसारी पनि दिनुस् ! नत्र यस्तो झमेलामा परिएला

bike

गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उनको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए। पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो।

आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत् विक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफैंले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ। प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डितको नाम फेला पर्‍यो। त्यसपछि प्रहरीले कसरी त्यो मोटरसाइकल त्यहाँ पुग्यो भनेर पण्डितको खोजी गर्न थाल्यो।

रिकण्डिसनमा विक्री गरेको कागजका कारण पण्डित त बचे। तर यस्तै तवरले सवारी साधन विक्री गरेकाहरू फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्का बताउँछन्। यस्ता घटना धेरै आउने गरेको उनले बताए ।

मोटरसाइकल, गाडी जस्ता सवारी साधन विश्वासमा अरूलाई विक्री पछि पनि नामसारी नगरी चलाउन दिन नहुने खड्काको भनाइ छ । ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोषी आफू हुन्छु भन्ने थाहा भई बेवास्ता गर्दा धेरै फस्ने गरेको उनले बताए । सरकारी वकिलले सवारी धनीपूर्जामा जसको नाम छ उही प्रतिवादी बनाउने हुँदा धेरैले सानो कमजोरीका कारण ठूलो क्षति व्यहोर्न बाध्य भएको खड्काको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सवारी साधन विक्री गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउँछन्। अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उनले यो सन्देश सबै सवारी धनीलाई पुर्‍याउन जरुरी देखिएको जानकारी दिए।

आफ्ना सवारी साधन विक्री गरेर नामसारी नगरेकाहरू धेरै रहेका छन्। विश्वासका आधारमा बस्दा सवारी साधन किनेकाहरूले बीमा नगर्ने, सवारी साधनको नवीकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ। यसको दोषी पनि सवारी धनी हुने गरेका छन्। धेरै सवारी साधन पुराना भएपछि बढी विक्री वितरण हुने गर्दछ। खरिद गरेकाहरूले आफ्नो नाममा नभएमा नवीकरण नै नगरी सञ्चालन गरिदिँदा सरकारी राजस्वमा स्वयम् सवारी धनीको बक्यौता बसिरहने समस्या हुने गर्दछ । barahinews

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds