‘प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थली जाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं’

‘प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थली जाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं’

air-pollution-human-health-

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती दिएकी छन् ।

आफ्नो कार्यकालमा राजधानीमा धूवाँधूलो नियन्त्रण भएकाले अब मास्क लगाएर हिँड्न पर्दैन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरेकी हुन् । ‘मन्त्री (भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ)ज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, आउनुस् प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकमा शाहीले भनिन् ।

बैठकमा सरकारका तर्फबाट यातायातमन्त्री महासेठ सहभागी थिए । शाहीले आफू स्कुटीमा हिँड्ने गरेको उल्लेख गर्दै राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भनेर बुझ्न मन्त्री महासेठ र समितिका सदस्यहरूलाई समेत आग्रह गरेकी थिइन् ।

राजधानीको प्रदूषण घटाउन प्रधानमन्त्री ओलीले सेवा आरम्भ गरेका साझा यातायातका विद्युतीय बस कहाँ थन्किएका छन् भन्ने प्रश्नसमेत उनको थियो । प्रधानमन्त्री ओलीले गत कात्तिक ६ गते ललितपुरको साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गरेका थिए । संस्कृति मन्त्रालयले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न ल्याएका ५ वटा विद्युतीय बस साझा यातायात मातहतमा लगी हतारमा राजधानीमै सेवा सुरु गरिएको घोषणा भएको थियो ।

टेन्डरको मापदण्डमा तोकिएभन्दा कमसल भएकाले ती बस सञ्चालनमा आएका छैनन् । संस्कृति मन्त्रालयले ती बसमा १७ वटा कैफियत भेटिएको भन्दै आपूर्तिकर्ता कम्पनीलाई फर्काएर नयाँ ल्याउन निर्देशन दिइसकेको छ । सांसद शाहीले ती विद्युतीय बसका विषयमा पनि यातायातमन्त्री महासेठसितप्रश्न गरेकी थिइन् । ‘विद्युतीय बस कहाँ छन् ? तिनका लागि ब्याट्री चार्जिङ स्टेसन निर्माणको काम के भइरहेको छ ?’ उनले सोधिन् ।

जवाफमा मन्त्री महासेठले विद्युतीय बस कहाँ छन् भन्ने विषयमा आफ्नो मन्त्रालय जानाकार नरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ