विषादी परिक्षण प्रकरणः प्रधानमन्त्रीले भने – ‘कर्मचारीले भ्रममा राखे’, मन्त्री यादवले भने- ‘सन्तोष मिल्छ भने थप्पड हान्नुस्’

विषादी परिक्षण प्रकरणः प्रधानमन्त्रीले भने – ‘कर्मचारीले भ्रममा राखे’, मन्त्री यादवले भने- ‘सन्तोष मिल्छ भने थप्पड हान्नुस्’

Kp-Oli-Matrika-Yadav-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो ।

नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ । ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो ।’

विषादी परीक्षण स्थगितको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि पत्रकार सम्मेलन गरी कर्मचारीहरूले आफूलाई गुमराहमा राखेको बताएका थिए ।यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’यद्यपि प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले खासगरी भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउन सुरु गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ ग‍रेपछि भारतले पत्र पठाएरै र कर्मचारीहरुलाई भेटेर विषादी परीक्षण नगर्न दबाव दिएको थियो ।

त्यससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले भारतबाट कुनै प्रकारको दबाव नआएको बरु विषादी परीक्षण गर्ने प्रयोगशाला नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । कृषि मन्त्रालयले नाकामा कडाइ गरिरहेको बेला प्रयोगशाला नभएको भन्दै मन्त्रिपरिषदले नै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

त्यसको सर्वत्र आलोचना भइरहेको बेला कृषि मन्त्री चक्रपाणि खनालले विषादी परीक्षणको क्षमता सरकारसँग भएको भनेर खण्डन मात्र गरेनन्, परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र नै अनलाइनखबरमार्फत सार्वजनिक भयो ।

यो पनि पढ्नुहोस
भारतीय दूतावासको यो पत्र, जसले सरकारलाई गलायो (चिठीसहित)

पत्र सार्वजनिकपछि सरकार आलोचित बनिरहेका ओलीले भारतबाट आएको पत्रबारे समयमै जानकारी नपाउँदा आफूले ‘भारतीय पक्षबाट कुनै दबाव नआएको’ भनेर बोलेको प्रष्टीकरण टेलिभिजन कार्यक्रममार्फत् दिएका हुन् ।

पार्टी संसदीय दलको असार २१ को बैठकमा यो विषय उठेपछि भारतीय पक्षबाट कुनै दबाव नआएको दाबी गरेका ओलीले २३ गते मात्रै त्यससम्बन्धी पत्र पाएको जिकिर गरेका छन् ।

‘मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनेँ । तर, २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ’, प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी परीक्षण रोकिएकोबारे सोधिएको जिज्ञासाको जवाफ दिँदै भनेका छन्, ‘म त्यसबाट दुखित छु । यथार्थ मबाट लुकेको रहेछ ।’

नेपाल उत्पादितभन्दा भारतमा उत्पादित तकारीहरुमा बढी विषादी प्रयोग हुने गरेका समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

तरकारीको विषादी परीक्षण भारतीय दबावमा रोकेपछि नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । सर्वोच्चले भने सीमामा विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ