बुटवल : अज्ञात समूहले शान्तिभूमि लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड गरेको छ। बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचवटा मूर्ति बुधबार राति तोडफोड गरिएको हो। राणा शासनयता बुद्धविरोधी गतिविधि भएको सम्भवतः यो पहिलो घटना हुन सक्ने जानकार बताउँछन्। २००१ सालमा बौद्ध धर्म प्रचार गरेको भन्दै सात भिक्षुलाई देशनिकाला गरिएको थियो। पछिल्लो घटनाले ती दिनको स्मरण गराएको भिक्षुको भनाइ छ।
नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका मूर्ति फुटाइएको छ। घटनाको अनुसन्धान गरी अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरोकारवालाले माग गरेका छन्। अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीय महास्थिवीरले मूर्ति तोडफोड गर्नु अशान्तवादी चरित्र भएको बताए। ‘यो घटना निन्दनीय छ’, उनले भने, ‘अशान्ति चाहनेहरू यस्तो गतिविधिमा संलग्न छन्। घटनामा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यो घटना लज्जास्पद भएको बताए। यसले नकारात्मक सन्देश प्रवाह गर्ने चिन्ता उनले व्यक्त गरे। बुद्धको मूर्ति कुन स्थानमा राख्ने-नराख्ने भनेर प्रश्नसमेत उब्जिएको उनको भनाइ छ। ‘बाटो–बाटोमा बुद्धका मूर्ति राख्नु कत्तिको उचित छ ? ’, उनले भने, ‘यसको सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण भएको छ।’ बुद्ध कुनै धर्मका नभई साझा हुन् भन्ने शिक्षा दिन नसकेका कारण पनि घटना भएको हुन सक्ने उनको ठम्याइ छ।
रूपन्देहीमा तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले सडकका बीचमा मूर्ति राखेका छन्। बुद्धका मूर्ति राख्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने तिलोत्तमाका मेयर वासुदेव घिमिरेले बताए। ‘मूर्ति तोडफोड विकासविरोधी गतिविधि हो’, उनले भने। कार्यपालिका बैठकले घटनामा संलग्नलाई तत्काल कारबाही गर्न प्रहरी–प्रशासनलाई आग्रह गरेको छ।
प्रदेश ५ प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिले घटनाको निन्दा गरेको छ। समिति सभापति दधिराम न्यौपानेले विज्ञप्ति जारी गरी मूर्ति तोडफोड धार्मिक मूल्यमान्यताको अपमान भएको बताएका छन्। नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन्। – अन्नपूर्णपोष्ट

सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन