कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)

कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)

Prativa (1)

पोखरा । कक्षा १२ को परीक्षामा नेपालभरमै सर्वोत्कृष्ट जिपिए ल्याउने मध्येमा आफूलाई उभ्याउन सफल प्रतिभा मावि पोखराकी छात्रा शुरती पाण्डेलाई डेढ लाख नगद सहित सम्मान गरिएको छ । अभाव र दुःख झेलेर समेत १२ कक्षाको परीक्षामा व्यवस्थापन शंकायतर्फ ३.९२ जीपीएका साथ सर्वाेत्कृष्ट विद्यार्थीमध्ये एक बनेकी शुरतीलाई आफ्नै विद्यालयबाट १ लाख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट ५० हजारसहित सम्मानित भएकी हुन् ।

विद्यालयमै आईतबार आयोजित सम्मान कार्यक्रममा शिक्षाविद् डा. जर्ज जोन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, एकेडेमिक डिन, बिजयबहादुर थापा, प्राचार्य विश्वगोपाल पराजुली, उच्च मावि संयोजक किरण सापकोटा लगायतले नगद एक लाख, दोसल्लाले बधाई एवं सम्मान गरेका हुन् । सोहि अवसरमा अध्यक्ष पौडेलले आफ्नो व्यवसाय अटो वेज प्रालिमार्फत थप ५० हजार प्रदान गरे ।

औपचारिक प्रतिपर्धा र आधिकारीक घोषणा नभएपनि कक्षा १२ मा म्यानेजमेन्ट तर्फ ३.९२ जिपिए सर्वाधिक हो । काठमाण्डौको ग्लोबल कलेज अफ म्यानेजमेन्टका छात्राहरु फुर्वा शेर्पा र पूजा शर्माले पनि ३.९२ जिपिए ल्याएका छन् ।

धादिङ आगिन्चोकमा सामान्य परिवारमा जन्मिएर एकल आमाको संघर्ष र दुःख बुझ्दै पढेकी शुरतीले विद्यालय, शिक्षक र आफ्नों मेहनतका कारण यो नतिजा ल्याउन सफल भएको बताइन् । चार्टड एकाउण्टेण्ट बन्ने लक्ष्यका साथ अघि बढेकी शुरतीको उच्च शिक्षामा सघाउने हेतुले नगद सहित बधाई एवं सम्मान गरेको प्राचार्य विश्वगोपाल पराजुलीले बताए ।

विद्यालयमै कक्षा ७ मा अध्ययनरत भाइ सचितराज पाण्डेलाई १२ कक्षा सम्म निःशुल्क अध्ययन गराउने समेत विद्यालयले घोषणा गरेको छ । सचेत पनि पढाइमा अब्बल छन् । यससँगै, शुरतीले प्रतिभा रत्न अवार्ड समेत पाउनेछिन् । कक्षा ११ र १२ मा समग्रमा सर्वोत्कृष्ट हुनेले पाउने यो अवार्ड आधा तोला सुन र दश तोला चाँदी जडित रत्नको हुनेछ । २ सय २० विद्यार्थी मध्ये शुरती समग्रमा सर्वोत्कृष्ट भएकी हुन् । यस्तै, विद्यालयकै २६० जना विज्ञान संकायतर्फका विद्यार्थी मध्ये समग्रमा सर्वोत्कृष्ट हुन सफल सराहना श्रेष्ठले पनि आधा तोला सुन र दश तोला चाँदी जडित प्रतिभा रत्न सम्मान प्राप्त गर्ने उच्च मावि संयोजक किरण सापकोटाले जानकारी दिए ।

सम्मान कार्यक्रममै अवसरमा कास्की जिल्लामा उच्च जिपिए ३.८४ ल्याउने विद्यालयकै बिनोद छन्त्याल, दिपेश भण्डारी र सोनी राना सहित उत्कृष्ट जिपिए ल्याउनेलाई मायाको चिनोका साथ सम्मान पनि गरिएको थियो । विद्यालयमा ३ दशमलव ७६ भन्दामाथि ल्याउने विद्यार्थी ६ जना छन् ।

‘कक्षा १२ पछि आईएलटिएस् टोफल हैन, आफ्नै देशमा पढौं, देश बनाऔं’

कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् डा. जर्ज जोनले गुरुलाई सम्मान र ईमान्दारिता नै विद्यार्थीको प्रमुख गुण भएको बताए । उनले आफ्नो गुरु, विद्यालय, अभिभावक र सच्चा साथीकै कारण कोहि व्यक्ति सफल बन्ने भएकाले सफलता हाँसिल गरेपछि पनि यी सहयोगीहरुलाई कहिल्यै भुल्न नहुनेमा जोड दिए ।

विद्यालयका अध्यक्ष नारायण पौडेलले यस्ता हजार सपना रहेको भन्दै विद्यालयले पूरा गर्दै गएको बताए । एकेडेमिक डिन बिजयबहादुर थापाले प्रतिभाले यस वर्ष स्वर्णिम ईतिहास रचेको भन्दै विदेशी भूमिमा पलायन नहुन विद्यार्थीहरुलाई सुझाए । ‘तिमीहरूले देश नबनाए कसले बनाउँछ ? देशमै अब्बल हुने हो, देश बनाउने हो । अब आइएलटीएस, टोफल धाएर विदेश पसेर पिआरका लागि हिँड्ने हैन । धर्तीको श्राप लाग्छ ।’ थापाले भने ।

२०४३ सालमा स्थापना भएको विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्याजेज्मेण्टमा पढाई सञ्चालन गरेको छ । अहिले विद्यालयमा कक्षा ११ र १२ का कूल १०४४ जना विद्यार्थी अध्ययनरत छन् ।

https://www.facebook.com/bigkhabar/videos/880844835636172/

को हुन् शुरती पाण्डे ?

धादिङ आगिन्चोक घर भएका पाण्डे परिवार पोखरामा बसेको लामो समय भयो । शुरतीे कक्षा ४ मा पढ्दा नै बुबा गुमाईन् । आमा सम्झना पाण्डेलाई छोरा छोरी र आफ्नो आधार स्तम्भ नै ढलेपछि पोखरामा कसरी बाँच्ने पीर थपियो । तर, आफै काम गर्दै छोराछोरी पढाईन् । शुरतीले एसईईमा हाँसिल गरेको ३.७ जिपिए सहितको नतिजाले प्रतिभाले ११, १२ मा छात्रवृत्तिका साथ पढायो । आमा सम्झना अहिले पनि बिहानसाँझ नेपाल–भारत पुस्तकालयमा काम गर्छिन् भने दिउँसो महेन्द्रपुलमा रहेको ‘मथुरा साहुको पसल’मा काम गर्छिन् । आमाको संघर्ष नजिकबाट बुझेकी शुरतीले पढाई लाई नै केन्द्रमा राखेर अघि बढिन् । यद्यपी, पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि उनी सहभागी हुँदै गईन् । अहिले उनी चार्टर्ड एकाउन्टेन्ट (सिए) पढ्न पोखरा सिर्जना चोकमा रहेको इन्लाइटेन्ड इन्टरनेशनल एकेडेमी (इआईए) मा भर्ना भएर पढाइ सुरु गरिसकेकी छन् ।

सम्मान कार्यक्रमका थप तस्विरहरुः

 

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ