यूएईले नखेल्दा नेपाललाई इमर्जिङ एसिया कप खेल्ने मौका, पहिलो खेल भारतसँग

यूएईले नखेल्दा नेपाललाई इमर्जिङ एसिया कप खेल्ने मौका, पहिलो खेल भारतसँग

Nepali-Cricket-Team

काठमाडौं : यही नोभेम्बर १४ बाट बंगलादेशमा हुने इमर्जिङ टिम एसिया कपमा नेपालले सहभागिता जनाउने भएको छ । यूएइले प्रतियोगिता नखेल्ने भएपछि नेपालले खेल्ने मौका पाएको हो । ८ टोली सहभागी हुने प्रतियोगिताको समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । नेपाल रहेको समूह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ छन्।

एसियन क्रिकेट परिषद्(एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्नेछ । दोस्रो खेल १६ नोभेम्बरमा हङकङविरुद्ध र १८ नोभेम्बरमा बंगलादेशको सामना गर्नेछ ।

यो एसियन क्रिकेट परिषद्(एसीसी)ले आयोजना गर्ने एक प्रतियोगिता हो । एसियाका टेस्ट मान्यता प्राप्त ५ राष्ट्रका यू–२३ टोली र पछिल्लो एसिया कप छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा शीर्ष तीन राष्ट्रका राष्ट्रिय टोली प्रतियोगितामा सहभागी हुनेछन् ।

यो इमर्जिङ टिम एसिया कपको यो चौथो संस्करण हो । यसअघि नेपाल २०१३ को पहिलो र २०१७ मा भएको दोस्रो स‌ंस्करणमा पनि भाग लिएको थियो । २०१७ मा बंगलादेशमा भएको प्रतियोगिता अन्तर्गत समूह चरणका खेलमा पाकिस्तान र बंगलादेशसँग पराजित भएको नेपालले हङकङलाई हराएको थियो । त्यतिबेला पनि नेपाली टोलीको नेतृत्व तत्कालीन उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले गरेका थिए ।

२०१८ को डिसेम्बरमा भएको तेस्रो संस्करणमा नेपालले भाग लिन पाएको थिएन । २०१८ मा मलेसियामा भएको ६ राष्ट्र सम्मिलित एसिया कप छनोट प्रतियोगितामा नेपाल चौथो भएको थियो । समूह चरणको खेलमा हङकङ पहिलो,यूएई दोस्रो र ओमान तेस्रो भएको थियो । दोस्रो भएको यूएईले नखेल्दा नेपालले यस पटक मौका पाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ