पाेखरा अन्तराष्ट्रिय विमानस्थलका लागि डेढ सय राेपनी जग्गा अधिग्रहण गरिने

पाेखरा अन्तराष्ट्रिय विमानस्थलका लागि डेढ सय राेपनी जग्गा अधिग्रहण गरिने

airport_Fotor-750×421

पोखरा – पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै डेढ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ। इन्स्ट्रुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) राख्न जग्गा अपुग भएपछि तेश्रो पटक १ सय ४८ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको हो। पाइलटलाई बाटो देखाउन र जहाज रोक्न सघाउन यो मेसिन राखिन्छ। जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद् बैठकबाट सहमति पाइसकेको छ। दक्षिण पूर्वमा १ सय ६ रोपनी र उत्तरपूर्वतर्फ ४२ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए। ‘क्याविनेटबाट पास भएको पत्र हामीलाई आएपछि सूचना निकाल्छौं। दक्षिणतर्फ आईएलएस मेसिन राख्नुपर्ने छ। उत्तरतर्फ आयल निगमले जग्गा मागिरहेको छ, ’ उनले भने, ‘लेटर आएपछि कमिटी गठन हुन्छ। चाँडै गर्नुपर्ने भएकोले प्रोसेसमा गैहाल्छ। ’

स्थानीयको मागलाई सम्बोधन गर्दै सहज वातावरणमै जग्गा अधिग्रहण गरिने उनले सुनाए। ‘कुनै अब्जेक्सन छैन। केही मागहरु छन्। सूचना जारी भएपछि ती कुराहरु आउलान्, ’ उनले अघि भने, ‘मुआब्जा समितिले निर्धारण गर्छ। सरोकारवालालाई पनि त्यहाँ सहभागी गराइन्छ। वहाँहरुको कुरा त्यहाँ पनि राख्नुहोला। ’ केही जग्गा पहिलेदेखि नै रोक्का राखेकोले सहज भएपनि अरु जग्गा चाहीँ पूरै नयाँ प्रक्रियाअनुसार अधिग्रहण गर्नुपर्ने छ। आयल निगमलाई भविष्यमा जग्गा नपुग्ने र त्यसका लागि पनि केही जमिन अहिले नै अधिग्रहण गर्नुपर्ने अवस्था रहेको मुनन्कर्मीले जानकारी दिए।

हाल ३ हजार ७ सय ३५ रोपनी क्षेत्रफलमा निर्माण भैरहेको विमानस्थलमा जग्गा थप अधिग्रहण गरेपछि ३ हजार ८ सय ८३ रोपनी हुनेछ। विमानस्थल निर्माणको काम ५२ प्रतिशत पूरा भएको छ। रनवे (धावनमार्ग), ट्याक्सी वे (ट्याक्सी गुड्ने ठाउँ) र एप्रोन (जहाज पार्किङ) तयार भैसकेको इ. कृष्ण पौडेलले जानकारी दिए। सन् २०२१ जुलाई अघि नै विमानस्थल निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ। २०२९ सालमा प्यासिफिक एशोसिएसन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखराको पर्यटन विकासको गुरुयोजना तयार गर्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेको थियो।

त्यसपछि पहिलो पटक २०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको हो। विमानस्थल निर्माणका लागि जग्गा अपुग भएपछि २०६९ सालमा थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। २०७१ जेठ ८ गते चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग निर्माणको ठेक्का सम्झौता भएपछि अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७२ बैशाखमा विमान स्थल निर्माणका लागि शिलान्यास गरेका हुन्। विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने बताईएको छ। ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ भने अनुदान बाहेकको रकमको वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्छ। चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा सहुलियत ऋण दिएको हो।

४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्गमा एकैपटक ३ वटा अन्तराष्ट्रिय जहाज र ८ वटा आन्तरिक जहाज पार्किङ गर्न मिल्नेछ। विमानस्थल निर्माणपछि २ सय यात्रु क्षमताका विमान पोखरामा सहज अवतरण गर्ने सक्नेछन्। विमानस्थल निर्माण भएपछि पोखराबाट भारत, चीन, थाइल्याण्ड, सिंगापुर, मलेसिया लगाएतका देशमा सिधा उडान हुने विश्वास छ। बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरु मात्र ल्यान्ड गर्न मिल्ने यसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प रुपमा प्रस्तुत गरिएको बिषयलाई आजको अादर्श समाज दैनिकले लेखेकाे छ ।  अन्तराष्ट्रिय विमानस्थल तयार भएपछि हाल चलिरहेको विमानस्थल प्रयोगका विषयमा भने खासै छलफल भएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ