रबिन्द्र अधिकारीको स्मृतिमा आयो गीत ‘तिमीलाई सम्झी…’ (भिडियोसहित)

रबिन्द्र अधिकारीको स्मृतिमा आयो गीत ‘तिमीलाई सम्झी…’ (भिडियोसहित)

Rabindra Adhikari song

ठीक एक वर्ष अघि २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएका जनताका आशा र भरोषाका नेता रविन्द्रको स्मृतिमा गीत सार्वजनिक भएको छ ।

पोखराका गायक तारापति सुवेदी, होम नेपाली र चर्चित गायिका टीका पुनको आवाजमा गीत तयार भएको हो ।कास्कीको साविक भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्र प्रसादका जेठो छोराका रुपमा विसं २०२६ वैशाख २२ गते आइतबार अधिकारीको जन्म भएको थियो । गाउँकै श्री ब्रह्म ज्योति प्रावि, शान्ति पधेंरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि र पाण्डेथुमबाट प्रवेशिका उत्तीर्ण गरेका उनी विद्यालय अवस्थादेखि नै अनेरास्ववियु, रेडक्रस जस्ता सङ्गठन एवं सङ्घसंस्थामा क्रियाशील थिए ।

प्रवेशिका उत्तीर्ण गरेसँगै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका अधिकारीले केही समयपश्चात् विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्न थाले । विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने उनी विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बने ।

विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा अधिकारी निर्वाचित भएका थिए । विसं २०५३ मा उनी स्ववियु काउन्सिल नेपालको संयोजक बने । विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । पञ्चायतकालीन समयमा नै अत्यन्त क्रियाशील अधिकारी विसं ०४६ को जनआन्दोलनताका नै पटकपटक छ महिना जेल र हिरासतमा परेका थिए ।

पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दानै अधिकारीले क्याम्पस भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माणका साथै शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि आदिमा धेरै काम गरेका थिए ।

शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्रविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमासुरक्षा अभियान आदिमा उनले नेतृत्व गरे ।

लक्ष्मणपुर बाँधको विरोध तथा तत्कालीन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्धको आन्दोलनका साथै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलन जस्ता धेरैमा उनले अगुवाइ गरेका थिए । विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका अधिकारी विसं २०३९ मा नै पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित बनेका थिए ।

विसं २०४० मा इलाका पार्टी कमिटीमा, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ मा पार्टी जिल्ला कमिटीमा रहेका अधिकारी त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहेका थिए ।

विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव बनेका अधिकारी ०६३ मा पुनःसचिवमा निर्वाचित बने । विसं ०६२-६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक गरी पाँच महिना जेल बसेका अधिकारी विसं २०६४ र विसं २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित बने ।

विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद्का लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी पछिल्लो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । यसअघि उनले विकास समितिको सभापतिका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

अधिकारीले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलङ्का, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण गरिसकेका छन् ।

पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उनले उल्लेख्य भूमिका खेलेका थिए । उनका संविधानसभा, लोकतन्त्र र पुनसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित भएका छन् । अधिकारीका बुबा आमा, श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ