कोरोना सङ्क्रमण फैलिने डरले इरानमा ५४ हजार कैदी केही समयका लागि रिहा

कोरोना सङ्क्रमण फैलिने डरले इरानमा ५४ हजार कैदी केही समयका लागि रिहा

Iran jail

धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

विश्वभरि अहिले ९०,००० जनाभन्दा बढीमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ। अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ।

बीबीसीका अनुसार इरानका कैयौँ वरिष्ठ अधिकारीहरूमा पनि सङ्क्रमण देखिएको छ।त्यहाँको आकस्मिक स्वास्थ्य सेवाका प्रमुख पिरहुसेनी कोलिभान्डमा पनि सङ्क्रमण भएको पुष्टि भएको छ। दुई सय ९० सांसदमध्ये २३ जनामा पनि सङ्क्रमण देखिएको छ।सोमवार त्यहाँका सर्वोच्च नेता आयातोल्लाह खामेनेईका एक सल्लाहकारको पनि कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ