१८ औं आहा ! रारा गोल्डकप: आयोजक सहाराको विजयी शुरुवात, बीबीसीले २ पटकको अग्रता जोगाउन सकेन

१८ औं आहा ! रारा गोल्डकप: आयोजक सहाराको विजयी शुरुवात, बीबीसीले २ पटकको अग्रता जोगाउन सकेन

Sahara-Club_jeevan rayamajhi

पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेर पनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो ।

त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका लागि २ गोल गरे । उनले खेलको ७३ औं र १०० औं मिनेटमा दुई गोल गर्न सफल भए । खेलको ‘म्यान अफ दी म्याच’ समेत बनेका त्रिदेवले टोलीका लागि निर्णायक हेड गोल गरेका थिए ।

सहाराका कीपर अर्पण कार्कीको लामो फ्री–किक बलमा अनमार्क रहेका त्रिदेवले सजिलै निर्णायक गोल गरे । मैदानको सेन्टर लाइन भन्दा पनि पछाडी ब्रिगेडका शिशिर लेखीले टोलीका कप्तान मानबहादुर तामाङलाई लडाएपछि सहाराले फ्री–किक पाएको थियो ।

यता, ब्रिगेड ब्वाइजले भने दुई पटकको अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोर्नु प¥यो । खेलमा अग्रता भने ब्रिगेड ब्वाइजले लिएको थियो । खेलको २६ औं मिनेटबाट १० खेलाडीमा सीमित सहाराबिरुद्ध अग्रता बनाउन ब्रिगेडलाई ५८ मिनेट कुर्नुप¥यो ।

राजेश परियारको गोलबाट ब्रिगेडले अग्रता लिएको थियो । विदेशी खेलाडी कजिम ए बुसारीले मैदानको बायाँ भागबाट निकालेको लामो क्रस बलमा राजेशले इजी गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । डी–बक्सभित्र अनमार्कमा रहेका राजेशलाई सहाराका कीपर र डिफेन्डरले छेक्ने कुनै अवसर नै पाएनन् ।

ब्रिगेडको अग्रता भने धेरैबेर टिक्न सकेन । लगत्तै, ६२ औं मिनेटमा सहाराका सीवे उइरिचले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याई पु¥याए । कमल थापाको लामो फ्री–किक बलमा उइरिचले हेड गोल गर्दै टोलीलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

दुबै पक्षका लागि १–१ को बराबरी पनि धेरैबेर टिक्न सकेन । लगत्तै, ६३ औं मिनेटमा पुनः ब्रिगेडले २–१ को अग्रता लियो । बिजय गुरुङले ब्रिगेडका लागि दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । ब्रिगेडको फ्री–किक बललाई सहाराका कीपर अर्पणले बायाँ हातको मद्दतमा पञ्च गर्दै फर्काएको रिबाउण्ड बलमा बिजयले गोल गर्दै टोलीलाई दोस्रो पटक अग्रता दिलाए ।

ब्रिगेडको उक्त अग्रतालाई सहाराले १० मिनेटपछि नै बराबरीमा ल्यायो । खेलको ७३ औं मिनेटमा त्रिदेवले टोलीका लागि दोस्रो गोल गर्दै ब्रिगेडको अग्रतालाई बराबरीमा ल्याई पु¥याए । निर्धारित ९० मिनेटको समयसम्म दुबै टोलीले एक–अर्काको पोष्टमा आक्रमणहरु बुनिरह्यो ।

निर्धारित समय दुबै टोलीले २–२ को बराबरी खेलेपछि अतिरिक्त थप १५ मिनेटको समय थपिएको थियो । त्रिदेवले खेलको १०० मिनेटमा निर्णायक गोल गरेपछि खेलको नतिजा भाग्यले साथ दिएको सहाराको पक्षमा पुग्यो ।

खेलको २६ औं मिनेटदेखि आयोजक सहारा १० खेलाडीमा सीमित बन्यो । उसको जीवन रायमाझीले रेडकार्ड खाँदै बाहिरिएको थियो । खेलको पाँचौ मिनेटमा पहेंलो कार्ड खाएका जीवनले २६ औं मिनेटमा ब्रिगेडका कीपर बिशाल सुनारलाई खराब ट्याकल गरेपछि मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले रेड कार्ड दिदैं मैदान बाहिर पठाएका थिए ।

आयोजक सहाराले दुई बिदेशीसहित सहारा एकेडेमीका ५ जना खेलाडीलाई यस पटकको टिममा उतारेका छन् । सहाराका प्रशिक्षक बिष्णु गुरुङले भर्खरै अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै गरेका जीवनको कम अनुभवका कारण पनि पूरा गेम १० खेलाडीले खेल्नुपरेको प्रतिक्रिया दिए । आगामी खेलहरुमा टोलीको सबै पोजिसनमा सुधार गर्नुपर्ने उनको प्रतिक्रिया थियो ।

आयोजक सहारा क्लबले अब क्वार्टरफाइनल खेलमा विभागीय नेपाल पुलिस क्लबसँग खेल्नेछ । शुक्रबार विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब र झापा–११ बीच अन्तिम प्रि–क्वार्टरफाइनल खेल हुनेछ ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको उद्घाटन गरेका हुन् । सहारा क्लबले यस वर्ष राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान सुजल श्रेष्ठलाई सर्वोत्कृष्ट फुटबल खेलाडीको सम्मानबाट सम्मानीत गरेको छ । मुख्यमन्त्री गुरुङले सुजललाई दोसल्ला ओढाएर ३५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरे ।

प्रतियोगितालाई सफल पारौं : मुख्यमन्त्री

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासमा सहाराको अहम भुमिका रहेको बताए । यस्ता प्रतियोगिताले पोखरालाई खेलकुदको हव बनाउन सहयोग मिल्ने उनको धारणा थियो । उनले १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितालाई सफल पार्न आग्रह गरे । कोरोना भाइरसको संक्रमण जस्तो कठिन परिस्थितिमा पनि यस्तो प्रतियोगितालाई सबैको साथ सहयोगले सफल बनाउन उनको आग्रह थियो ।

उनले भने, ‘पोखरा प्रदेश र पर्यटकीय राजधानी मात्र होइन, खेलकुदको पनि राजधानी हो । पोखरा रंगशाला र यहाँ हुने गतिविधिहरुले यस कुराको पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम अवस्थामा पनि यसप्रति सतर्कता अपनाउँदै पोखरास्थित सबै सामाजिक संघसंस्थाहरुले प्रतियोगितालाई सफल पार्न आग्रह गर्दछु ।’

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका संचालक सूर्यबहादुर केसीले सहारा क्लबले असल काम निरन्तर गर्दै आएको बताए । सहाराको उत्कृष्ट सामाजिक कामको अरुले समेत सिको गरेको उनको धारणा थियो । संघीय सांसद समेत रहेका केसीले थपे, सहाराको यस्तै सामाजिक कामहरुमा उल्लेखनीय देन भएकै कारण आफू र मेरो परिवारले १९ बर्षदेखि साथ दिदै आएको हो ।’

राखेपका सदस्य राजेशकुमार गुरुङले पोखरा रंगशालामा बनेको भौतिक संरचना र यसको ब्युटिफिकेसनको संरक्षण आवश्यक रहेको औंल्याए । उनले भने, ‘पोखरामा रातिको समयमा पनि कुनै खेल गतिविधि गर्न अब, यहाँ लाइटिङ सिस्टमको जडान आवश्यक छ । यसमा संघीय सरकार, यहाँको प्रदेश सरकार र स्थानीय सरकारको ध्यान जाओस भन्ने मेरो आग्रह हो ।’

तस्बीर : सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ