लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप, कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप, कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

Indian & Chinese army

भारतको लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएकाे छ। गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको जनाएका छन्।

भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,’गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ।’

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

चीनको दाबी: भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गर्दा भिडण्त भयाे

चीनले भारतको लद्दाखमा दुवै देशकाे सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको बताए ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यू भएको चिनिया विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । ‘भारतीय सैनिकहरुले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उधृत गर्दै ट्वीटरमा लेखेको छ ।

चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन । समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको बीबीसीले जनाएको छ । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत पराजित भएको थियो। चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो। विदेशमन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ