सम्पन्नसहित ६ जना राखेप बोर्ड सदस्यमा मनोनित, ‘जिम्मेवारी थपियो, काम गर्ने हौसला बढ्यो’: श्रेष्ठ

सम्पन्नसहित ६ जना राखेप बोर्ड सदस्यमा मनोनित, ‘जिम्मेवारी थपियो, काम गर्ने हौसला बढ्यो’: श्रेष्ठ

Sampanna Shrestha

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनित भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा बाग्लुङका श्रेष्ठसहित ६ जनालाई मनोनयन गरेका हुन् ।

बिहिबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् । राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ बिहु ४ का श्रेष्ठ सदस्य मनोनित भएका हुन् । चितवनका रिम रानाभाट र ओखलढुंगाकी इन्दिरा निरौलालाई खेल बिज्ञ र प्राविधिकको रुपमा मनोनित गरिएको छ । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।

त्यस्तै राष्ट्रिय खेल संघको सिफारिसमा नै काठमाडौं चपलीका अर्जुनबहादुर केसी र चितवन भरतपुर १ का सुवास श्रेष्ठ मनोनित भएका हुन् । परम्परागत साहसिक तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व गर्दै गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको जनाएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले परिषद्को बोडलाई पूर्णता दिन लागि परेको छ । नयाँ ऐनले ३७ जनाको परिषद्को बोर्डको परिकल्पना गरेको छ । मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ । राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था ऐनले गरेको छ ।

यहाँको खेलक्षेत्रलाई निराश बनाउँदिनः श्रेष्ठ

नवनियुक्त राखेप सदस्य सम्पन्न श्रेष्ठले आफूले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षका रुपमा गरेको कामकारबाही राम्रो भएको कुरा आजको उपलब्धिले पुष्टि गरेको बताए । ‘मैले अध्यक्षका रुपमा जे काम गरेँ, पक्कै राम्रो गरेकै कारण झनै ठूलो जिम्मेवारी मिलेको रुपमा बुझेको छु । यसले मलाई थप जिम्मेवारी बढाएको छ । काम गर्ने हौसला पनि बढेको छ ।’ श्रेष्ठले भने – ‘यहाँको खेलक्षेत्रलाई निराश बनाउँदिन ।’

उनले अब नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमै हुने र स्वभाविक रुपमा आफूले बढी जिम्मेवारी वहन गर्नुपर्ने भएकाले सबैको साथ सहयोगले सफल बनाउने समेत बताए । उनले भने – हिजो पनि राम्रो काम गर्दै आएको हो । भोलि पनि काम गर्ने नै हो । म आफै खेलाडी हुँदै यो ठाउँमा आएको हो । म खेल र खेलाडी बुझ्छु, उनीहरुको हक अधिकारका क्षेत्रमा म सधैं रहनेछु ।’

 श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का बागलुङ जिल्ला कमिटि सदस्य, खेलकुद विभाग इन्चार्ज र राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्यसमेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ