बुद्ध नेपालमा जन्मिएकोमा शंका छैनः भारतीय विदेश मन्त्रालय

बुद्ध नेपालमा जन्मिएकोमा शंका छैनः भारतीय विदेश मन्त्रालय

Lumbini

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ । जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए । प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

नेपालले भन्यो : बुद्धको जन्मभूमि बहसको विषय होइन

सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको हो । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक भएको हो ।

सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको उनले बताए । ‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै उहाँले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो,’ पौडेलले भनेका छन् ।

नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । यो तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् । ‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ,’ उनले भनेका छन् ।

विदेशमन्त्री जयशंकरले भनेका थिए ‘बुद्ध महान भारतीय हुन्’

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका थिए । ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो । नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । तर दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

गौतम बुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको इतिहासमा पढ्न पाइन्छ । रानी मायादेवी कपिलवस्तुबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतम बुद्धको जन्म भएको थियो ।

तर नेपालमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा जन्मिएको भनेर देखाउन भारतले नक्कली कपिलवस्तुसमेत बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ