पोखरा ।
चलचित्र पत्रकार संघ कास्कीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलत भएको छ । सोमबार पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो । संघका अध्यक्ष अरुण गिरीले रगत दिएर कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रमको विषयमा जानकारी गराउँदै अध्यक्ष गिरीले चलचित्र पत्रकार संघ कास्कीले कोरोना महामारीका कारण कास्कीमा देखा परेको रक्तअभावलाई परिपूर्ती गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने,‘हामी चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रम सहित केही मानविय सेवामूलक कार्यक्रम गर्न चाहन्थ्यौं । त्यो समय आज जुर्यो । प्रतिकुल मौसममा पनि रक्तदाताहरुको उत्साहजनक सहभागिता रहयो । सबैलाई धन्यवाद । अब यो हाम्रो नियमित कार्यक्रम हुनेछ ।’
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले मनोरञ्जनका कार्यक्रम गर्ने संस्थाले यसरी मानविय सेवामा समर्पित भएको देख्दा खुशी लागेको बताए । ‘रक्तदान जीवनदान हो, हरेक तीन महिनामा रगत दिन मिल्छ । रक्तदान गर्नु भनेको आफू स्वस्थ रहनु पनि हो । त्यसैले रक्तदान कार्यक्रममा सरिक भएर रक्तदान गर्दा मन आनन्द त हुन्छ नै पूण्य लाभ समेत हुन्छ ।’, उनले भने । ज्ञवालीका अनुसार कास्कीमा केही समय अगाडि रगतको अभाव भएपनि अहिले कुनै समस्या छैन । हरेक दिन जसो रक्तदान कार्यक्रम भएकाले रगतको पूर्ति गर्न सहज भएको उनको भनाई थियो । कास्की सँगै काठमाडौं र चितवनमा समेत रगत पठाउने गरिएको ज्ञवालीले जानकारी गराए ।

चलचित्र पत्रकार संघ कास्कीका निर्वतमान अध्यक्ष रेम विकले संघको पछिल्लो गतिविधि प्रशंसनिय रहेको उल्लेख गरे । महामारीका समयमा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै सामाजिक सेवामा तल्लिन हुनुले संस्थाको समाजप्रतिको दायित्वलाई दर्शाइएको उनको बुझाई थियो ।
चलचित्र निर्देशक घनश्याम लामिछानेले विषम परिस्थितिमा कति संस्था थन्किएर बस्दा चलचित्र पत्रकार संघ कास्की भने केही न केही गतिविधिमा अग्रसर भएको देख्दा खुशी लागेको बताए । उनले भने,‘कोरोना कहरको समयमा पनि यसरी संस्थागत क्रियाकलाप गरिनुले समाजमा संस्थाको राम्रो छाप बस्छ । संघको पछिल्लो सक्रियता देख्दा खुशी लागेको छ ।’
कार्यक्रममा चलचित्र क्षेत्रमा आबद्ध रहेका कलाकार, पत्रकार लगायतको उपस्थिति थियो । क्षेत्रीय रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सचिव प्रभु अधिकारीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?