प्रिमियर लिगमा चेल्सी र जर्मन कपमा डर्टमण्डको सहज जित

प्रिमियर लिगमा चेल्सी र जर्मन कपमा डर्टमण्डको सहज जित

chealse

प्रिमियर लिगमा चेल्सीको सहज जित
सरुवा बजारमा राम्रो रकम खर्च गरेको चेल्सीले गएराति ब्राइटनलाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा विजयी शुरूआत गरेको छ।

अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो। चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो।

यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे।

रिसे जेम्सको उत्कृष्ट प्रदर्शनमा चेल्सीले सहज विजय हासिल गर्‍यो। चेल्सीले २३औं मिनेटमा अग्रता लिएको थियो। ब्राइटनका गोलकिपर म्याथ्यू रायनले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई कप्तान जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।

५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए। ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

जर्मन कपमा डर्टमण्डको फराकिलो जित

जुड बेलिंगहमले डेब्यू खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गयराति जर्मन कपमा डुइसबर्गमाथि फराकिलो विजय हासिल गरेको छ। १७ वर्षे बेलिंगहम यसै सिजन बर्मिङघम सिटीबाट डर्टमण्डसँग अनुबन्ध भएका थिए।

डर्टमण्डले १५औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो। त्यसको १५ मिनेटपछि बेलिंगहमले अग्रता दोब्बर बनाएका थिए। ३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्डको सामना गरेपछि डुइसबर्ग १० खेलाडीमा सीमित बनेको थियो। थोर्गान हाजार्डले ३९औं मिनेटमा फ्रिकिकमा गोल गरे। ५०औं मिनेटमा जियोभानी रेनाले अर्को गोल थपे। ५८औं मिनेटमा मार्को रेउसले गोल गरेपछि डर्टमण्ड फराकिलो विजय हासिल गर्न सफल भएको हो।

डर्टमण्डले अब १९ सेप्टेम्बरमा बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ