युरोपियन महारथी रियाल मड्रिड गएराति कोपा डेल रेमा तेस्रो श्रेणीको क्लब एलकोयानासँग स्तब्ध भएको छ। दश खेलाडीमा सीमित बनेको एलकोयानाले रियाललाई २–१ ले पराजित गरेको हो।
जिनेदिन जिदानको रियालले ४५औं मिनेटमा मिलिटानोको गोलबाट अग्रता लिएको थियो। खेल सकिन दश मिनेट बाँकी हुँदा जोस सोल्बेसले बराबरी गोल फर्काएपछि खेल थप समयमा धकेलिएको थियो।
थप समयको २०औं मिनेटमा लोपेज ओलिभनले दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टीम एलकोयना दश खेलाडीमा सीमित भएको थियो। तर रियाल मड्रिडले त्यसको फाइदा लिन सकेन। थपिएको ३० मिनेट सकिन पाँच मिनेट बाँकी हुँदा जुआनानले गोल गरेपछि रियाल स्तब्ध भएको थियो।