माझी बस्तीबारे नायिका स्वेता खड्का-‘थकाउने, गलाउने र असफल बनाउने प्रयास हुँदैछ’

माझी बस्तीबारे नायिका स्वेता खड्का-‘थकाउने, गलाउने र असफल बनाउने प्रयास हुँदैछ’

majhi-basti

२०७४ साल माघमा स्वेता श्री फाउण्डेशनबाट भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने औपचारिक घोषणा गरेकी नायिका स्वेता खड्काका बारेमा केहीदिन यता सामाजिक संजालमा विभिन्न टिका टिप्पणी देखिन थालेको छ ।

सामाजिक संजाल फेसबुक, टुइटर तथा युट्युबमा यतिबेला नायिका खड्काले आर्थिक अभावका कारण माझी बस्ती निर्माणबाट हात झिकेको भन्नेलखालका समाचारले सामाजिक संजालमा स्थान पाइरहँदा नायिका खड्काले शुक्रबार लामो स्टाटस लेख्दै माझी बस्ती निर्माण बारे भ्रम र यथार्थ पस्किएकी छन् । 

हेर्नुहोस् ! नायिका खड्काको फेसबुक स्टाटसबाट जस्ताको त्यस्तै  !  

अहिलेका केही दिनमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केही मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भइरहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्षकका ती भ्रामक समाचारसंगै माझी बस्तीका केही व्यक्तिसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भइरहेका छन् ।

यसरी प्रकाशित र प्रसारित यी समाचारको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु । ३ वर्ष अगाडि माझी बस्ती निर्माणको लागि अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडि र पछाडि मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धन नै थियो । थियो त केवल आत्मविश्वास अनि साहस । भुकम्पले क्षत्विक्षत भएको माझी बस्तीलाई सम्बन्धित सरकारी निकायहरु लगायत मनकारी दाताहरुसंग जोडिदिने एउटा कडिको रुपमा आफूले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई ।

त्यसकै परिणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बागमती प्रदेश सरकार लगायतका सरकारी निकाय र विभिन्न बैकिंङ संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिसंगको हातेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ ।

भूकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तीको रुपमा यो बस्तीले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक समाचार आउनु आफैँमा हाँस्यास्पद छ । मैले यस्लाई माझी बस्ती र म बीचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु । माझी बस्ती भित्रका केही व्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर ‘श्वेताले भूकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ’ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो ।

५३ घरधुरी भित्र बस्ने ३२२ जनसंख्या मध्येबाट केही सिमित व्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषि सावित गर्न खोजिँदै गरेको सत्यलाई मैले बुझेकोछु । माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, विभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाहरुलाई हतोत्साहित गर्ने अनि टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार व्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकिकृत बस्ती विकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्।

यसलाई माझीटोलका अधिकाशं व्यक्तिहरुले पनि राम्ररी बुझेकाछन् । नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेको छ त्यसको बारेमा झिनो जानकारी समेत नलिई एकलौटी रुपमा आरोप लगाउनु कतिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथाशिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्ने नै छु ।

हिजो माझी बस्तीले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किँदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन ‘ तैले त्यो बस्तीमा के योगदान गरिस् ?’ मैले बस्ती निर्माणको काम रोक्किँदै गर्दा व्यक्तिगत रकम ३२ लाख दिएर काम सुचारु गरेको छु । विभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौँ पटक सिंहदरवार धाएको छु । कैयौँ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पश्चात मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी हरेश नखाई जुधेको छु ।

जीवनमा कसैसंग हात फिँजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझी टोलको लागि हात फैलाएकी छु । सहयोगको अपिल गरेकी छु । तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझी टोलकै उपभोक्ता समिति मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वास छैन भने स्ठानीय उपभोक्ताको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौंको कारोबार भएको देखिन्छ । यो परियोजना माझी टोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानीय उपभोक्ता समितिसंग भलाकुसारी गर्नु पर्ने हुन्छ ।

बस्ती निर्माण पूर्व नै ८ वटा घरको डिजाइनमध्येबाट हालको डिजाइन रोज्ने स्थानीयबासी नै हुन् । नेपाल सरकारबाट भूकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रैबाट बन्ने घरका डिजाइन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियबासीकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो । घर निर्माणको लागि प्राविधिकहरुले तयार गरेको अनुमानित लागत ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्धता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयबासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समितिनै हो ।

सरकारी अनुदान बाहेक अन्य नपुग रकम ४ लाख ऋणस्वरुप लक्ष्मी बैंकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्ठानीय उपभोक्ता समिति नै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्तालाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ । अत यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक इकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पूर्वसहमती भएकै हो । घर बाहेकका नयाँ पुर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्यांकी निर्माणको कार्यमा भने स्ठानीय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले विभिन्न निकायसँग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकै छ । अत घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही व्यक्तीले अहिले आएर ‘आफूलाई नयाँ घर घाँडो भएको’ भन्नु कति सम्मको जायज हो ? सार्वजनिक निजी साझेदारी मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिकृत बस्ती विकासको यो मोडल ‘दिगो विकास’को सफल मोडल पनि हो ।

‘एनजिओहरुले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो । ४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । बस्ती निर्माणपूर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेकोछ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरुछन् । त्यसो त, माझीहरुले बोकेको ऋणको भारी तिर्नको लागि ‘होम स्टे’को परिकल्पना गरिएको छ जस्ले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुने छ र ऋण तिर्नको लागि सहजता आउनेछ । यसकाे लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ ।

अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यस्को बारेमा गलत अफवाह फैलाउन खोज्नु कतिको न्यायसंगत होला ?
यतिखेर माझी टोलमा इट्टा र सिमेन्ट जडित भौतिक पुर्वाधारहरु मात्र बनेका छैनन्। बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानियबासीले आफूमा आएको मानसिक र बौद्धिक विकासको मुल्यांकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किँदैन ।

अत: बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुने छैन । ‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु, ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।’ मेरो अन्तिम इच्छा ‘म मर्दा मेरो लासको चिता पनि माझी बस्तीको आगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्यष्टी त्यहीँ गरियोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ