आईपीएल : कोलकाताको विजयी सुरुवात

आईपीएल : कोलकाताको विजयी सुरुवात

kkr

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो।

त्यसअघि हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन। युवा अलरान्डर अब्दुल समाद ८ बलमा २ छक्का सहित १९ रनमा अविजित रहे। अन्तिम बलमा आन्द्रे रसेललाई मनिष पाण्डेले छक्का प्रहार गरेपनि जितको लागि भने पर्याप्त थिएन ।

चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । राहुल त्रिपाठी २९ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए। दिनेश कात्तिक ९ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे।

कोलकातालाई ओपनर नितेश र सुभमन गिलले ७ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। सातौं ओभरको अन्तिम बलमा स्पिनर राशिद खानले गिललाई १५ रनमा बोल्ड आउट गर्दै ओपनिङ साझेदारी तोडेका थिए।

दोस्रो विकेटका लागि नितेश र राहुलले ५० बलमा ९३ रनको साझेदारी गरेपछि कोलकाताले बलियो योगफलको आधार तय गरेको थियो । तीव्र गतिका बलर टि नटराजनले १६ औं ओभरको दोस्रो बलमा राहुललाई विकेटकिपर ऋद्धिमान शाहबाट क्याच गराउँदै साझेदारी तोडेका थिए। राशिद खानले आन्द्रे रसेललाई मनिष पाण्डेबाट ५ रनमा क्याच आउट गराए।

नितेशलाई १८ औं ओभरको तेस्रो बलमा मोहम्मद नाबीले विजय शंकरबाट क्याच आउट गराएका थिए । लगत्तै अर्को बलमा कप्तान ओईन मोर्गन अब्दुल सामदबाट २ रनमा क्याच आउट हुन पुगे । स्पिनर मोहम्मद नाबीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारको नाममा १–१ विकेट रह्यो ।

कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ