आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।
वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरू गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताए ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरू भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ ।
सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग सुरू भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरू भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् ।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो ।
मठमन्दिर, उद्यान, स्मारकजस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो । कोरोनाको जोखिम कायमै रहे पनि मानिस वास्ता नगरी नयाँ वर्ष मनाउन लालायित भएझैँ लाग्थ्यो । कोरोना जोखिमका कारण गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएको विसं २०७७ यसरी खुलारुपमा मनाउन नपाएकाले हुनसक्छ आज मानिसको चहलपहल धेरै देखिन्थ्यो ।
पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा
पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न भक्तजन लाममा बसेका थिए ।
पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।
बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उहाँले सुनाए ।
बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् ।
दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए ।
एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ ।
काठमाडौंको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । गत वर्ष यी सबै मेला स्थगित गरिएको थियो ।
सम्बन्धित खबर
विदेश पठाउने भन्दै पीडितहरू बाट ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग