माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।
यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए । दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए ।
‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो । बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन’, दाहालको सचिवालयले साँझ जानकारी दियो । पुस ५ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच भेटघाट भएको छैन । उनीहरू एकअर्काबीच सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए ।
संसद् विघटनपछि ओली र दाहाल दुई ध्रुवमा बाँडिएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाई तत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर दाहाल आफैं संसदीय दलको नेता बनेका थिए । तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली र दाहाल पुरानै घरमा फर्कनुपरेको थियो । यो समाचार आजकोनागरिक दैनिकमा छ ।
सम्बन्धित खबर
एसईईको तयारी पूरा
पोखरा -१५ ठूलीमजुवामा मोटरेबल पुलको शिलान्यास
सार्वजनिक जग्गा र खुल्ला चौरको सदुपयोग गर्न पोखरा १५ मा एकैदिन ६ व्यायामशालाको उद्घाटन
पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन
पोखराको पृथ्वीचोकबाट जुवातास खेल्दै गरेका ७ जना झन्डै १ लाख नगदसहित पक्राउ
गण्डकीमा नयाँ सरकार बन्न सकस, एमाले-माओवादीमात्रै अपुग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग