पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः ‘सुमनको सुर’

पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः ‘सुमनको सुर’

suman

गण्डकी प्रदेशको नवलपुर जिल्ला दुम्कीवासका सुमन अर्याल सानैदेखि फुटबलप्रेमी हुन् । उनको सहभागिता यु–१६ साफ च्याम्पियनसीपबाट भयो । ५ वर्षअघि भएको सो प्रतियोगितामा क्वार्टरफाइनलसम्म नेपाल पुग्न सकेको थियो ।

गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा यु–२३ मा उनी सहभागी टिमले नेपाललाई स्वर्ण दिलाएको थियो । त्यसबेला नेपालले भुटानलाई फाइनलमा २–१ गोलअन्तरले हराउन सफल भएको हो ।

हाल जारी वल्र्ड कप क्वालीफाई राउण्ड खेल्दै गरेका छन् । तर अहिले भने केही समयदेखि कोभिड–१९ का कारण रोकिन पुगेको छ । यु–१८ साफ च्यापियनसीप, भुटानमा सहभागी नेपालले स्वर्ण जित्दा उनको पनि योगदान छ । नेपालले त्यसबेला भारतलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो ।

उनले एन्फामै तालिम लिएका हुन् । ४ वर्षदेखि उनी नेपाल आर्मीमा आबद्ध छन् । आर्मी टिमबाट आहारारा गोल्डकप खेल्न यी डिफेन्डर पोखरा रंगशाला समेत आएका थिए । त्यसबेला आर्मीले फाइनल यात्रा तय गरेको उनको स्मरण छ ।

सुमन भन्छन्, ‘पहिलेको तुलनामा अहिले खेल क्षेत्रमा लाग्नेलाई राम्रो अवसर छ । खेलाडीलाई अझै राम्रो सुविधा दिइयो भने आगामी दिनमा राम्रो गर्न सक्छन् ।’ बावु थानेश्वर अर्याल र आमा नारायणी अर्यालका सुपुत्र सुमनको एक जना दिदी छिन् । सुमनको भविष्यमा सफल फुटबलर बन्ने लक्ष्य छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधाको मनोनयनमा परेपछि सुमनले निकै खुसी लागेको प्रतिक्रिया दिए ।

खेल क्षेत्रमा समर्पित खेलाडीहरुको प्रतिभा प्रोत्साहन गर्दै मञ्चले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशस्तरको सो अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा सुमन सहित टेबल टेनिसका विनेश खनियाँ र करातेका नवीन रसाइली पनि मनोनयनमा छन् । वैशाख २० मा हुने अवार्ड समारोहमा वर्ष उत्कृष्ट खेलाडी पुरुषलाई २ लाख सहित अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ