पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः ‘नाम चम्काउँदै नवीन’

पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः ‘नाम चम्काउँदै नवीन’

nabin

कराँते खेलाडी नवीन रसाइली (२३) साग विजेता हुन् । गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ६७ केजी तौल समूहमा उनले स्वर्ण जित्दै देशको नाम चम्काएका थिए । संघर्षपूर्ण जीवन बाँच्दै आएका यी स्वर्णधारी यतिबेला पुनः चर्चामा छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधाको मनोनयनमा परेका छन् ।

आफू मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै नवीनले भने, ‘दुःख गरेमा फल अवश्य पाइने रहेछ । मेरो लक्ष्य अझै ओलम्पिकमा सहभागी हुनु हो ।’ त्यसैले उनी यतिखेर ललितपुरमा तालिम गरिरहेका छन् । बिहानीको समय राष्ट्रिय टिमसँग तालिममा व्यस्त उनी दिउँसो बालाजु कराते डो एकाडेमीमा आबद्ध छन् ।

बालाजुमा उनी २०६६ देखि नै आबद्ध छन् । उनलाई ध्रुवविक्रम मल्लले कराते सिकाएका हुन् । २०६५ सालदेखि सानैदेखि कराते खेल्दै आएका उनी स्वर्ण पदक जित्नुलाई जीवनको अहोभाग्य ठान्छन् । भन्छन्, ‘पदक जित्नु आफ्नो लागिमात्रै हैन, राष्ट्रकै इज्जत रहन्छ । विदेशमा यसको छुट्टै भ्यालु छ । नेपालमा अझै पनि खेल र खेलाडीको भविष्य सुनिश्चित हुन सकेको छैन ।’

बागलुङ जिल्लाको बोंगादोभान–२ मा २०५५ मा जन्मिएका नवीनले सन् २०११ मा ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । बंगलादेशमा भएको पाँचौं साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेताका नाम पनि उनकै नाममा छ । बावु पूर्णवीर र आमा भीमदेवी रसाइलीका ३ छोरा र १ छोरीमध्ये उनी माहिला हुन् ।

सन् २०१४ मा सम्पन्न साउथ एशियन क्याडेट/जुनियर तथा सिनियर कराते च्याम्पियनसीपमा उनी ६८ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए । उनले भाग लिएका एक दर्जन बढी विभिन्न प्रतियोगितामा कुनै न कुनै पदक जित्दै आएका छन् । सन् २०१० मा काठमाडौंमा भएको कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए । परिवारमा उनका दाइसमेत यही खेलसँग आबद्ध छन् । पोखरा स्पोर्टस् अवार्डमा समेत आफूले अवार्ड प्राप्त गर्ने उनको अपेक्षा छ ।

खेल क्षेत्रमा समर्पित खेलाडीहरुको प्रतिभा प्रोत्साहन गर्दै मञ्चले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको हो । गण्डकी प्रदेशस्तरको सो अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड वितरण गरिने अवार्डका मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले बताए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधामा मनोनीत उत्कृष्ट ३ मध्ये १ जनालाई जनही २ लाखसहित अवार्ड प्रदान गरिने छ । नवीनसँगै वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल परेका छन् । अवार्ड वितरण वैशाख २० मा पोखरा सभागृहमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ