पाँचौं पोखरा स्पोर्टस् अवार्ड विशेष: जमुनाको जमाना

पाँचौं पोखरा स्पोर्टस् अवार्ड विशेष: जमुनाको जमाना

jamuna thapa (14)

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड पर्यटकको लागि हव हो । विभिन्न देशका पर्यटक ठूलो संख्यामा घुम्न आउँछन् । साइकल वा मोटरसाइकल भाडामा लिएर यहाँको सुन्दरता विचरण गर्न निस्कन्छन् । त्यही दृश्य लेकसाइडमा जन्मेहुर्केकी जमुनाको बालमस्तिष्कमा अमिट छाप बस्यो ।

साइकल चलाउने रहर पूरा गर्न आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उनी सम्झिन्छन् । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना यसैगरी भाडामा साइकल लिएर टाढाटाढासम्म जान थान्थे । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगा होटल म्यानेज्मेन्ट क्षेत्रमा छिन् भने कान्छी जमुनालाई रहरैरहरमा सिकेको साइकलले नामदाम दुवै दिएको छ ।

१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता पोखरेली जमुना बल्ल २३ वर्ष भइन् । तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गरेकी उनले खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउँछिन् । जमुुना भन्छिन्, ‘साइक्लिङतर्फ लेडिजको कम सहभागिता छ । नयाँ नयाँको लागि प्रेरणा मिल्ने भएकोले यसैमा लागेकी हुँ ।’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उनले बताइन् । भनिन्, ‘उत्कृष्ट ३ को मनोनयनमा पर्नु नै ठूलो कुरा हो । खेल क्षेत्रमा लागेमा अवश्य कदर हुँदो रहेछ भन्ने लागेको छ ।’

गोरखामा हालै आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगितामा जमुनाले भाग लिएकी थिइन् । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता उनी जमुना २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता पनि हुन् । जमुना पौडी खेलाडी पनि हुन् ।

पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उनले कास्य पदक जितेकी थिइन् । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच उनी लकडाउन अघिसम्म साइकल टुर्स एण्ड ट्राभल्समा काम गर्थिन् । माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गरेकी उनी एकै दिनमा ८० किमीसम्म पार गरेको बताउँछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ