कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा

कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा

Yubaraj lama navaraj sharma

पोखरा । जागिरको चक्करमा पिजी रियल स्टेट एण्ड जब लिन्क, तालचोकबाट ठगिएकाहरु आन्दोलित छन् । स्याङ्जा फेदीखोला ४ का २१ वर्षीय कृष्णप्रसाद पौडेलले जनही २५ सय रुपैंया लिएर पछि ठगेको थाहा भएपछि सयौं युवायुवतीहरु प्रहरीको शरणमा पुगेका छन् ।

कृष्णलाई शुक्रबार प्रहरीले पक्राउ गरिसकेको छ । आइतबार ३ जनाको लिखित जाहेरीपछि कारबाही प्रक्रिया सुरु भएको छ । शुक्रबार नै शिशुवा प्रहरीले पक्राउ गरी जिप्रका, कास्कीमा पौडेललाई पठाएकोमा उनी कास्की प्रहरी हिरासतमै छन् ।

शुक्रबार दिनभर शिशुवामा धर्ना दिनेहरु आइतबार दिनभर जिप्रका कास्की अगाडि पनि देखिए । धर्नामा देखिएका कति विद्यार्थी छन् त कति मजदुर छन् । उनीहरुलाई २५ सय पनि ठूलो छ । तर त्यस भीडमा केही भने हुलहुज्जत र रमाईलो गर्न मात्र आएको जस्तो पनि देखियो । प्रहरी विरुद्ध जाइलाग्ने, मिडिया विरुद्ध आक्रोश पोख्ने, पत्रकारहरुलाई हातपात गर्ने आधा दर्जनजति देखिए ।

आइतबार दिउँसो कालो टोपी र कोट भिरेर एक युवक जिप्रका अगाडि रोकिए । ति युवक देख्नासाथ एक हुल उनलाई घेर्न पुगे । झोला खोस्, ल्यापटप हेर्, के के छ निकाल्, त्यसलाई कुट् भन्दै भिडले घेर्न सुरु गर्दा पत्रकारले दृश्य कैद गर्न थाले । त्यसपछि टोले गुुण्डा पारामा २–३ जना पत्रकार रञ्जन अधिकारीमाथि जाइलागे । उनीहरुले भिडियो रेकर्ड भइरहेको मोबाइल खोसे । पत्रकार भएपनि हान् भन्दै लछार्न थाले । भिडियो डिलिट गर्ने शर्तमा मोबाइल दिइयो । पछि भिडियो रिस्टोर गरी गण्डकन्यूजमा उक्त भिडियो प्रसारण भइसकेको छ ।

पत्रकारमाथि हातपात गर्ने ३१ वर्षीय युवराज लामा र सोहि ठाउँका ३० वर्षीय नवराज शर्मा रहेको प्रहरीले जानकारी दियो । उनीहरुले पोखरा १७ बिरौटा घर भनेर ढाँटेको पछि खुल्यो । लामा अहिले पोखरा ७ मासबारमा ससुरालीमा बस्दै आएका छन् । घर काठमाण्डौ १४ कलंकी रहेको लामाले बताएका छन् । डिएसपी सुवास हमालका अनुसार नवराज शर्माको घर पोखरा २७ तालचोक हो ।

उनीहरु र अन्य दुई जनालाई प्रहरीले केही समयमै नियन्त्रणमा लिई हिरासतमा राख्यो । मोबाइल, पर्स लुटिएका नवलपरासीका सरोज च्वाईं सुवेदीले प्रहरीमा उजुरी पनि दिएका थिए ।

जिप्रका आएका टोपी लगाउने युवक सरोजले भिडबाट बच्न आफू कोहि होइन भनेपनि उनी सञ्चालक कृष्ण पौडेलको नातेदार रहेको रहस्य पछि खुलेको छ । सरोजलाई लुट्ने र पत्रकारलाई हातपात गर्ने युवराज र नवराजहरु अन्य बेला देखिएका छैनन् । उनीहरु हुलहुज्जत गर्न मात्र आएको हो कि ? भन्ने प्रहरीको आशंका छ । ‘ति दुई जना फाराम भरेर २५०० तिरेका पीडित हुन् कि होइनन्, बुझ्न बाँकी छ ।’ डिएसपी हमालले भने ।

टोले गुण्डा प्रवृत्तिका यी दुई ले ‘कुट् कुट्’ भनेको भिडियोमा प्रष्ट देखिन्छ ।

सम्बन्धित समाचारः

कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

पोखरामा ठगीको नयाँ धन्दा, समातिए स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल

पोखरामा ठगीको नयाँ धन्दा, समातिए स्याङ्जा फेदीखोलाका कृष्ण पौडेल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ