Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल

-ई. सूर्य तिमिल्सिना

अफिसको काम, घरको काम, पढाई अनि कहिले काहिँ सामाजिक काम, भेटघाट, गोष्ठी, तालिम, सेमिनार यस्तै यस्तै । सधैं भरि व्यस्तको व्यस्त राखिराख्ने चिज हुन् यि । मान्छेको जीवन अन्त्य नहुँदासम्म यो व्यस्तता सधैं छंदैछ, कि त सन्यासै लिनुपर्यो। तर यि सबै व्यस्ततालाई आँखा चिम्लेर हरेक बर्ष कम्तिमा एक पटक बिशेष गरि दशैंको समयमा कुनै न कुनै नयाँ ठाउँ घुम्ने योजना बनेकै हुन्छ ।

पहिलो दिन : पोखरा देखि काँडे,पोथाना हुँदै फरेस्ट क्याम्प

यहि अठोटकै कारण प्रकृतिको सान्निध्यतामा रम्ने मौकाको रुपमा यो बर्ष मार्दी हिमाल बेस क्याम्प पैदल यात्रा तय  भयो ।दशैं लगत्तै संक्रान्तिको दिन ४ जनाको टिम (संकेत,क्षितिज,प्रदिप र म सूर्य) जाने निधो गरियो । हिड्ने अघिल्लो दिन मौसम बिज्ञान बिभागले देशभर निरन्तर बर्षा  हुने भनेर  पूर्वानुमान घोषणा गरेको थियो,वेदर फोरकाष्टमा पनि त्यस्तै देखियो,हामी हरु जाने नजाने दोधार हुँदा हुँदै पानी नै परेपनि तयारीका साथ जाने गरि प्लाष्टिक,छाता सहित पोको पन्तुरो कसियो,जसमा कपडा संगसंगै केहि औषधी,खाजा,लाइट,पावर बैंक लगायतका सामग्री थिए (जुन अघिल्लो दिनकै भेटमा लिष्ट तयार पारि जुटाइएको थियो ।बिहान ठुलै पानी परे चैं यात्रा तय नगर्ने निधो भएको थियो,तर  बिहान करिब ७-८ बजेतिरको समयमा  पानी नपरेको हुँदा हामी बिन्ध्यबासीनी बाट सार्वजनिक बसमा काँडे तिरको यात्रा सुरु गर्यौं । गाडी जाने बाग्लुङ,हामी लाग्ने उकाली ,त्यो गाडीबाट काँडेमा झरेर खाजा खाइसके पछाडी हाम्रो पैदल यात्राको पहिलो खुड्किलो सुरु भएको थियो।

निरन्तर झरीमा उकाली चड्दा चौतारीमा बिश्राम गर्दै
निरन्तर झरीमा उकाली चड्दा चौतारीमा बिश्राम गर्दै

काँडेबाट अष्ट्रेलियन क्याम्पको उकालो लाग्दै गर्दा बाटोमा एक जना भाईले लठ्ठी बेचेर बसेका रहेछन्,उनि भन्दै थिए :-दाई,दाई एउटा लठ्ठी लिनुस न ,३ वटा खुट्टाले टेकेर हिड्यो भने उकालो काटेको पत्तै हुँदैन क्या ।भाईको भनाई नि ठिकै लग्यो अनि एउटा लठ्ठी भाईसंग किनियो ५० रुपैयाँमा,अनि बाँकी चै जंगलमा भाँचिएको हाँगाबाट बनाइयो , केहि मिनेटकै यात्रामा पानी पर्न सुरु भयो,धन्न हामीले योजना अनुसार नै छाता र प्लाष्टिक हालेको हुनाले निथ्रुक्क चै भिजिएन,अष्ट्रेलियन क्याम्पमा अर्को एउटा प्लाष्टिक समेत थपेर (हामीसंग छाता ३ वटा मात्र थियो) हामी अघि बढ्दै थियौं,पानी परेको कारण बाटो चिप्लो थियो,जुता पनि सकेसम्म हिलोमा नपारौं भनेर   जोगाएकै हो ।

यत्तिकैमा हामी पोथाना पुग्यौं,पोथानामा संकेतको  साथीको होटल थियो,जहाँ मैले पनि यस अघि एक रात बिताएको थिएँ क्याम्प फायर हानेर ।  त्यहाँ कफी खाइसकेर प्रितम देउरालीमा खानाको अर्डर समेत गरेर हामी फेरी यात्रा सुरु गर्यौं,निरन्तर झरी,हिलो बाटो छिचोल्दै करिब १:३० बजे तिर  प्रितम देउराली पुगियो,त्यहाँ पुग्दा खाना तयार भैसकेको थियो,खाना खाइसकेर फेरी हामी अघि बढ्यौं,अगाडी जाँदै गर्दा दुई जना फरेस्ट  क्याम्पबाट फर्किदै रहेछन,उनीहरुले सोधे : आज कहाँ पुग्ने ? हाम्रो आजको गन्तब्य फरेस्ट क्याम्पसम्मको भएको बतायौं ।अझै ५ घण्टा लाग्छ त भन्दै गर्दा घडीको सुईले तिन बजाइसकेको थियो ।

यस अघि अन्नपूर्ण बेस क्याम्प,पुन हिल,अन्नपूर्ण सर्किट,तिलिचो,मुस्ताङ( सरकारी सेवाको दौरानमा  २ बर्ष बसेको ) लगायतको ठाउँ घुमेको हुनाले हिड्न सकिन्छ भनेर म  निश्चिन्त थिएँ,तर अन्य ३ जना साथिहरु के गर्लान भन्ने लागेको थियो तर हिड्दै जाँदा झन् कडा पो निस्किए ।उकालो बाटो,हिलो बाटो अनि अझ त्यत्रो समय,त्यस पछि हामी हिलो समेत खासै प्रवाह नगरी आफ्नो रफ्तार अघि बढायौं,यत्तिकैमा तोल्कामाथिको  नाक ठोकिने उकालो सकिएपछि एउटा पौवामा ओत लाग्न पस्यौं,बिश्राम गर्दै कफी बनाएर खायौं(बाटोमाआवश्यक पर्छ भनेर  थर्मस,तातोपानी,कफी,चिनी र ग्लास हालेको थियौं ) ।

निरन्तर बर्षाको कारण हिलो बाटोमा कष्टकर यात्रा गर्दै पदयात्री

त्यस पछि फरेस्ट क्याम्पको एउटा होटलमा हामी आउंदै छौं भनेर पहिलै जानकारी गरायौं र फेरी अघि बढ्यौं ।तेर्सो बाटो र हिलोको प्रबाह गर्न छाडीसकेको अनि रात समेत पर्न आँटेको  हुँदा बिच बाटोमा ७-८ वटा ग्रुपलाई पछि पार्दै हामी अघि बढ्यौं,जंगलको बाटो धेरै (नामै फरेस्ट क्याम्प), रात परिसकेको,बिचमा घरको उज्यालो केही थिएन रुखको हाँगा हाँगामा जुका झुण्डिएर कतिखेर अट्याक हानम भन्दै बसेका(नेचुरल लिच थेरापी) भुईमा उस्तै अनि मुसलधारे पानी कम्ता अत्यास लाग्दो थिएन । तर उज्यालोको झुल्को संगै हाम्रो अत्यास मेटिसकेको थियो,निरन्तर हिड्दा हिड्दै फरेस्ट क्याम्प आइपुगिएछ ।  पोखराबाट आएको अर्को टोली समेत हामी बसेकै होटलमा थियो ,खाना खानु अघि हामी अन्ताक्षरी र दोहोरीमा रमायौं  ,हाम्रो टिममा क्षितिज यस्तो कडा  छ ,जो कोहिले दोहोरीमा हराउन गार्है पर्छ ।  दिनभरको थकानले गर्दा यतिकैमा खाना खाएर हामी करिब ९ :३० बजे तिर सुत्यौं ।

दोश्रो दिन : फरेस्ट क्याम्प-लो क्याम्प ,बादलडांडा हुँदै हाइक्याम्प

 रातभर झरी , बिहान समेत झरीकै कारण  त्यो होटलमा बसेको अर्को टिम पोखरा फर्किने निधो गरिसकेको थियो, मौसम खराबभए पनि हामी भने तय भएको यात्राबाट नफर्किने अठोट गरि जुत्ताको तुना कसिसकेका थियौं ।  बिहान ७:३० बजे तिरको  झरीसंगै पिठ्युमा झोला र ओड्ने प्लाष्टिक,एउटा हातमा लठ्ठी अनि अर्को हातमा छाता संगै दोश्रो दिनको यात्रा  सुरु भईसकेको थियो ।

दुरीको हिसाबले भने दोश्रो दिनको यात्रा  अलि सहज थियो ।त्यसैले हामी प्रकृति संग थोरै भए पनि सानिध्य हुँदै अघि बढ्यौं ।  शहरको कोलाहल भन्दा टाढा,प्रकृतिसंग नजिक,त्यो माहोल नै बेग्लै हुँदै थियो । चराहरुको चिरबिर,बाटोको दुवै तिर गुरासंका बोटहरु,अझ गुरासं फुल्ने सिजनमा कति आकर्षक देखिएला है । जो प्रकृतिप्रेमी छ ,प्रकृतिका कथा बुझ्छन् ,प्रकृतिलाई नजिकबाट चिन्छन् उनीहरु यहाँबाट मुक्त हुनै चाहंदैनन्,कैयौं बिदेशी छन् जो आफ्नो जन्मभूमि बिर्सेर यहिँ रमाएका छन् ।यस्तै कतिपय कुरा हामीले नघुमी गुमाईरहेका हुन्छौं । खै किन किन प्रकृति मात्र हैन पदयात्रामा पहिलो चोटी भेटिएका पदयात्री समेत बर्षौं देखिको चिनजान जस्तो हेल्लो नमस्ते,कहाँ देखि आउनु भाको,अब माथि जान कति समय लाग्छ भनेर सोध्दै अघि बढ्दा आफ्नै महशुश हुँदो रहेछ,सायद  बेमतलबी,स्वार्थी अनि चिनेको मान्छे देख्दा नि मुख बंग्याउँदै अर्को तिर फर्केर हिंड्ने शहरिया जीवन भन्दा बिल्कुलै फरक भएर होला ।

तिहारको लागि पोखरा ल्याउँदै गरेका भेडाका बथान

लो क्याम्पदेखि माथिको अप्ठेरो बाटोमा २-३ दिन कुर्दा पनि  हिमाल हेर्न नपाएर निराश मुद्रामा फर्किंदै  गरेका जमात देखिन्थे,उनीहरुको निराश मुद्राले हामीमा पनि मौसम नखुल्ने हो कि भन्ने हुतहुतीले छाडेको थिएन ।त्यहाँ माथि हाम्रो चिनेकै २-३ वटा ग्रुपका साथिहरुले समेत फर्के हुन्छ भन्दा हामीलाई केहि नैराश्यता त छाउने नै भयो ।करिब ११ : ३० बजे तिर हामी बादलडांडा पुग्यौं,त्यहाँ पुग्दा मौसम केहि खुलेको थियो,त्यसैले हामीले ३६० डिग्रीमा भ्यू हेर्ने अवसर पायौं,त्यहीँ खाना खाएर करिब २ बजे तिर फेरी उकालो लाग्यौं । जति उकालो लाग्यो त्यति भ्यू राम्रो,एउटा चौरमा थकान मेट्न प्रदिप आफुँले ओढेको प्लाष्टिक भुईमा बिछ्याएर थकान मार्न बसेको मात्र के थिए,उसको प्लाष्टिकमा ४०-५० वटा जुका टाँसीएका रैछन, यत्तिकैमा  संकेतले भन्दै थियो- ४९ वटा फालेनी  ५० औं चैं राख् है । यत्तिकैमा हाँसोको फोहोरा निस्कियो । बाटोमा जुका व्यहोर्दै आएको भए पनि एति साह्रो चै कतै पनि थिएनन,त्यसैले त्यो डांडाको नाम “जुके डांडो” भनेर न्वारन समेत गरियो ।

 बाटोमा हिड्दै जाँदा अरु ग्रुपका मान्छेहरु संग समेत चिनजान भैसकेको थियो,यत्तिकैमा उकाली चड्दै गर्दा हाम्रो दोश्रो दिनको गन्तब्य हाइक्याम्प आइसकेको थियो । हाइक्याम्पमा  पुग्दा हामीले सम्पर्क गरेको होटल अघिल्लो दिनकै पाहुनाहरुले भरिएको हुँदा हामी अर्को होटल स्नो ल्याण्डमा बस्ने तय भयो । अघिल्लो दिन देखि भ्यु हेर्न कुरेर बसेका पर्यटक,त्यो दिन समेत उति नै मात्रामा ।मान्छेहरु कोठा नपाएर डाइनिङ रुममा सुत्नुपर्ने बाध्यतामा थिए,हामी भने अल्लि समयमै पुगेकोले कोठा पायौं । डाइनिङमै आगो ताप्ने क्रममा धरानबाट आएको डाक्टरहरुको समूहसंग चिनजान भयो,अघिल्लो दिन जस्तै त्यहाँ बस्दा पनि माहोल रोमान्चक र अविष्मरणीय बनेको थियो ।बाहिर मौसम केहि खुल्ला खुल्ला जस्तो भएकोले हामी भोली बिहानै सुर्योदय हेर्न बेस क्याम्प नै पुग्ने तरिकाले छिटै नै सुत्यौं ।

हाइक्याम्प देखि मार्दी हिमाल बेस क्याम्प तर्फ भ्यू हेर्नको लागि उकालो लाग्दै पैदलयात्री
हाइक्याम्प देखि मार्दी हिमाल बेस क्याम्प तर्फ भ्यू हेर्नको लागि उकालो लाग्दै पैदलयात्री

तेश्रो दिन : हाइक्याम्प  देखि बेस क्याम्प पुगेर लो क्याम्प-सिधिङ हुँदै पोखरा

बिहान करिब ४ बजेको अल्राम संगै हामी सबैको निद्रा खुल्छ,यतिकैमा ४ : ३० बजे तिर हामी लाइटको उज्यालोको सहाराले हिमालसंगको दुरीलाई अझै कम गर्दै उकालो लाग्छौं । स्मृतिमा सजिएको मार्दी,अन्नपूर्ण अनि माछापुच्छ्रेको  सुन्दरताले हामीलाई कसै पनि रोक्न दिएन,एति बेला भने तिन वटै हिमालले पालैपालो घुम्टो उघार्दै,छोप्दै गरेर हामीलाई जिस्काउँदै थिए ।हिमालसंगको लुकामारीले यात्राका सबै दुख कष्टहरु कपास सरि हावामा उड्न थालेका थिए । २ दिनको लागातर  हिंडाईको थकान पनि आकाशमा उडेको प्रतित हुन थालेको थियो ।यत्रो दुख गरेर आएर पनि हिमालसंग सामिप्यता गाँस्न नपाइने  हो कि भन्ने सन्देह बिलिन भैसकेको थियो ।  मार्दी भ्यू प्वाइन्ट अनि बेस क्याम्पबाटदेखिने हिमालको भ्यूले गर्दा सबै जना  मन्त्र    मुग्ध हुँदै  फोटोमा    कैद गर्न व्यस्त देखिन्थे ।

हिमाल संगको सामिप्यताले हामीमा छुट्टै उर्जा मिलेको थियो । यसै सन्दर्भमा हेनरी फोर्डको अमूल्य वाणीलाई यहाँ राख्न चाहें-संसारमा सबैभन्दा ठूलो कुरा हो आफ्नो दिमागलाई युवा बनाएर राख्नु,जसले सिक्न बन्द गर्छ सम्झिनुस उ बुढो भयो,चाहे उ बिस वर्षको होस् या असी बर्षको । उनले भने झैं खुल्ला प्रकृतिबाट हामीले किताबको ज्ञान भन्दा नि बिल्कुलै बेग्लै र बृहत कुरा सिक्दै जीवनको  अमूल्य पाठ पढ्ने अवसर पायौं  जीवनको आयमलाई बुझ्न  पायौं र ति अविष्मरणीय क्षण मानसपटलमा कैद गर्दै नयाँ उर्जाका साथ पुन : हाईक्याम्प-बादलडांडा-लो क्याम्प हुँदै सिधिङ झरेर जिप मार्फत सोहि दिन पोखरा फर्कियौं ।

(लेखक आइटी इन्जिनियरको रुपमा कार्यरत छन् । )

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस