अन्ततः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शौचालयको पाइप मर्मत १ वर्षपछि ! [समाचार प्रभाव]

अन्ततः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शौचालयको पाइप मर्मत १ वर्षपछि ! [समाचार प्रभाव]

wrh dhal nala

गण्डकी हस्पिटल भनेर चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुग्नेले अब भने नाक थुन्न नपर्ने भएको छ । झण्डै १ वर्षअघिदेखि फुटेको पोषण गृहको शौचालयको पाइप मर्मत कार्य सुरु भएको छ ।

क्षेत्रीय अस्पतालको नवनिर्मित प्रसूति तथा स्त्री रोग भवन र पोषण पुनस्र्थापन गृहको बीच भागमा पोषण गृहतर्फको शौचालयको पाइप फुट्दा दिसापिसावको आहाल बनेको थियो । जुन ठाउँमा २ वटा प्लाईउडले छोप्नुबाहेक अरु केही काम भएको थिएन ।

दिसापिसावको आहालले दुर्गन्धित बनेपछि सो सम्बन्धमा गण्डकन्यूजमा समाचार प्रकाशित भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बिजोकः वर्षदिनसम्म फुटेको पाइप नबनाउँदा दिसापिसाव डुङडुङ्ती शीर्षकमा समाचार प्रकाशन भएपछि तुरुन्त अस्पताल प्रशासन तात्तिएको हो ।

दिनहुँ बिरामी र कुरुवा ओहोरदोहोर गर्ने मुख्य स्थानमै एक वर्षदेखि शौचालयको पाइप फुटेर दिसापिसाव छरपस्ट बगिरहँदा मुकदर्शक बनेको अस्पताल प्रशासनले समाचार प्रकाशन भएको २४ घण्टा नबित्दै काम अघि बढाएको हो । ठेकेदार कम्पनीले एक साताभित्रमा डाइभर्सनको काम सम्पन्न हुने जनाएको छ ।

गत मंगलबार नै सो क्षेत्रमा मर्मत शाखा प्रमुखसहितको उपस्थितिमा ठेकेदार कम्पनीले काम सुरु गर्न नापजाँच थालेको थियो । ठेकेदार कम्पनी सिभिल टेक् कन्स्ट्रक्सनले शुक्रबारदेखि पाइपबाट आएको शौचालयको दिसापिसावलाई डाइभर्ट गर्ने गरी काम सुरु गरेको छ ।

पोषण गृहका प्रबन्धक निरमाया गुरुङले अब भने राहत मिल्ने भन्दै सन्तोषको श्वास फेरिन् । ‘गत वर्ष फागुनदेखि समस्या थियो । हामीले बनाइदिन भनिरह्यौंँ । तर, काम भएको थिएन । अब कम्तिमा दुर्गन्धकाबीच काम गर्नुपर्नेछैन ।’ उनले भनिन् ।

अस्पतालका मर्मत शाखा प्रमुख सुनिल अधिकारीले पाईप फुटेर दिसापिसाव आहाल बनेको क्षेत्रबाट पाईप मर्मत गरी पोषण गृहको मूख्य द्वार हुँदै अण्डरग्राउण्ड गरेर डाइभर्ट गर्न लागिएको बताए ।

ढल फुटेर दिसापिसाव छरपस्ट भएको ठाउँ हुँदै दिनहुँ सयौँको संख्यामा गर्भवती महिला तथा नवजात शिशुलाई लिएर आफन्त आवतजावत गर्ने गर्दछन् । अस्पतालमा कुपोषण भएर भर्ना भएका बालबालिकाले खाने खाना पकाउने भान्सा तथा उनीहरू खेल्ने कोठाको अगाडि नै दुर्गन्धित दिसापिसाव बगिरहेको छ ।

मास्कको प्रयोग गरेर हिँड्ने व्यक्तिलाई समेत दुर्गन्ध खप्न गाह्रो हुने उक्त स्थानमा बगेको दिसापिसावमा अरूको आँखा नपरोस् भनेर महिनौँदेखि प्लाइउडले छोपिएको छ । अब भने त्यहाँ काम गर्ने कर्मचारीसहित अस्पताल पुग्ने बिरामी तथा कुरुवाहरुले राहत महसुस गर्नेछन् ।

सम्बन्धित समाचारः

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बिजोकः वर्षदिनसम्म फुटेको पाइप नबनाउँदा दिसापिसाव डुङडुङ्ती

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ