राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा

राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा

ramchedevi sillo

आशिष पुरी । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ को गलेममा राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । धार्मिक र पर्यटकीय रुपमा चर्चित राम्चेदेवी थानको नामबाट यस होमस्टेको नाम राखिएको हो । गाउँबाट दुई घण्टाको उकालो पैदल यात्रामा राम्चेदेवी मन्दिर पुगिन्छ ।

होमस्टेबाट कल्छे झरना, भञ्ज्याङ डाँडा र दमह ढुं‌गा आधा घण्टामै पुग्न सकिन्छ । दमह ढुंगामा प्याराग्लाइडिङ्को परिक्षण उडानसमेत गरिएको थियो । होमस्टे सञ्चालनमा अधिकांश महिलाहरुको सहभागिता रहेको छ घुम्न जाने पाहुनालाई फुलको माला वा गुच्छा दिएर स्वागत गर्ने गरिन्छ ।

हाल दश घरधुरीबाट सुरु भएको होमस्टेमा करिब ५० जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको होमस्टेका अध्यक्ष पुजा गुरुङले बताइन् । गलेमको माझटोलबाट सुरु गरिएको होमस्टे बिस्तारै सबै टोलमा पुर्‍याउने योजना रहेको उनले जानकारी दिए ।

अधिकांश घरहरु बैदेशिक रोजगारी तथा बसाई सराईका कारण रित्तिएकाले ती घरहरुलाई समेटेर होमस्टे बनाउने योजना रहेको पुजाले बताइन् । यहाँ रहेको श्री शितला आमा समाजको घरमा करिब ६० जनासम्मको क्षमता रहेकोले सभा, सम्मेलन तथा सेमिनारहरु पनि सञ्चालन गर्न सकिनेछ ।

सामुदायिक होमस्टेलाई अझ ब्यवस्थित गर्नका लागि व्यवस्थापन समितिको गठन गरिएको छ । जसमा अध्यक्षमा पुजा गुरुङ, उपाध्यक्ष नानुमाया गुरुङ, सचिव चेतबहादुर गुरुङ, कोषाध्यक्ष क्याप्टेन इन्द्रबहादुर गुरुङ र सदस्यहरुमा शुष्मा गुरुङ, प्रकाश पौडेल र सुर्यकान्त पौडेल रहेका छन् ।

गलेम रापुमै रहेको स्थानिय मातृभूमि युवा क्लबले पनि त्यहाँको पर्यटन सम्भावनालाई प्रर्वदन गर्न चासो देखाएको छ । शितला राम्चे देवी मन्दिर पञ्चासे पद यात्राको क्षेत्रमा पर्ने बि.स. १८६० सालमा स्थापना भएको महत्वपुर्ण धार्मीकस्थल हो । समुन्द्री सतह देखी २१०० मि. उचाईमा अबस्थित रहेको छ । धार्मीक महत्व संगै यस क्षेत्रबाट पोखरा, माछापुच्छ्रे लगायतका हिम श्रीङखला, लालिगुराँस, सुनाखरी जस्ता फुलहरुको समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । जसलाई मातृभूमि युवा क्लबको पहलमा भिडियो डकुमेन्ट्र्री निमार्णको अन्तिम चरणमा रहेको र उक्त प्रचार भिडियो सामाग्रीमा उच्च प्राथामिकताका साथ समावेस गरीने क्लबका महासचिव सुमन गुरुङले जानकारी दिएका छन् ।

फेदीखोलाबाट उत्तर दक्षिण ७ किलोमिटर दुरीमा रहेको यो गाउँमा ८० घरधुरी रहेको मध्यमा ब्राह्मण ५० प्रतिशत, गुरुङ ४० र दलित समुदायका १० प्रतिशत रहेको बताईन्छ । फेदीखोलाबाट तीन घण्टाको उकालो हाइकिङ गरेर गलेम भीर हुँदै जान सकिन्छ भने फेदीखोलाकै सर्केटारी–आरुखर्क–गलेम भीर हुँदै करिब एक घण्टाको जीप यात्राबाट पनि पुग्न सकिन्छ । गलेम ग्रामिण मार्ग पोखराबाट पन्चासे धाम पुग्ने छोटो पदयात्राको रुपमा पनि परिचित छ ।

एक हजार छ सय मिटरको उचाइमा रहेको यस होमस्टेमा प्राय अर्गानिक खानेकुरा पाइन्छ । पाहुनालाई खाजाको रुपमा मकै, भटमास, सेलरोटीसँगै त्यही उत्पादित दुध तथा मोही खुवाइन्छ । कोदो खेती राम्रो हुने भएकोले त्यही उत्पादिक कोदोको रोटी, ढेंडो, रक्सी लगायतका परिकारहरु पाइनुका साथै गाँउमै फलेको चामलको भात, मकैको ढिंडोलगायतका परिकार पनि पाइन्छ ।

सिजन अनुसार त्यही उत्पादिक हरियो सागसब्जी, तरकारीहरु तथा फलफुलहरु पाइन्छन् । लोकल कुखुरा, सुकुटी तथा लोकल माछा समेत यहाँ पाइने परिकारहरु हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ