पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मारिनेको आफन्त अत्तोपत्तो छैन

पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मारिनेको आफन्त अत्तोपत्तो छैन

sp ramesh and crmnal ashok

कास्कीको साविक लेखनाथ नगरपालिका १४, सातमुहाने (हाल पोखरा ३२) स्थित तालखोलामा तटबन्ध निर्माणका लागि २०६२ को अन्तिमतिर मजदुरहरुको टोली खटिएका थिए । त्यसै टोलीमा थिए २० वर्षका रोजन राई । जसले आफ्नो घर सुनसरी, धरान भनेर स्थानियलाई चिनाएका थिए । अहिलेसम्म उनको बारे थाहा हुन सकेको यति नै हो ।

स्थानिय अशोक गुरुङको ती मजदुरहरुसँग झगडा परेको थियो । २०६३ वैशाख २९ गते झगडाकै क्रममा अशोकले दाउराको चिर्पटले रोजनलाई टाउकोमा प्रहार गरे । सख्त घाइते राईको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भयो ।

रोजनको यहाँ कोहि आफन्त थिएनन् । उनलाई चिन्नेजान्नेहरु पनि कोहि भएनन् । कास्की प्रहरीले केही संदिग्धहरुलाई समात्यो । झगडामा संलग्न अशोकले हत्या गरेको नखुल्दा उनी मुक्त भए । त्यसपछि उनी स्वतन्त्र रुपमा हिँडडुल गर्न थाले ।

घटना भएको १५ वर्ष पुगिसकेको थियो । हत्याकाण्ड त्यसै सेलाएको बेला कास्की प्रहरीको कमाण्ड एसपी रमेश थापाले सम्हालेपछि यो केस पनि अन्ततः निचोडमा पुग्न सफल बनेको छ । अपराध अनुसन्धानमा दख्खल मानिएका एसपी थापालाई पूरानो जघन्य अपराध अनुसन्धानमा सफलता मिलेको यो लगातार दोस्रो घटना हो ।

कास्कीको मादी गाउँपालिका १०, मकैखोलामा १४ महिना अघि स्थानिय बालिका कोपिला परियारलाई बलात्कारपछि हत्या गर्ने स्याङ्जा हरिनासका ४५ वर्षीय खड्कबहादुर खवास पक्राउ परी जेल सजाय भोगिरहेका छन् । कोपिला हत्यालगत्तै पक्राउ परेपनि खवासले प्रहरीको फितलो अनुसन्धानका कारण तत्कालिन समय उन्मुक्ति पाएका थिए ।

रोजनको हत्या भएको १५ वर्षपछि अशोक गुरुङ कसरी पक्रिन सफल भयो त ? एसपी थापा भन्छन् – ‘म कास्की आएपछि यहाँ कुन–कुन घटनामा संलग्नहरु पक्राउ परेका छैनन् भन्ने फाइल हेरेँ । केही घटनाहरुमा संलग्न फरार रहेका थिए । केही घटनामा भने संलग्न को हुन् भन्ने नै पत्तो थिएन । घटनामा सलंग्न पत्तो नभएका कोपिला परियार हत्या र रोजन राई हत्याको निचोडमा अहिले पुग्न सकियो ।’

एसपी थापाका अनुसार सातमुहानेमा रोजन राईको हत्यामा अशोक गुरुङ नै संलग्न रहेको अनुसन्धानबाट खुलेपछि उनको बारे बुझ्दा अहिले रोजगारीका क्रममा बहराईनमा रहेको खुलेको हो । कास्की प्रहरीको अनुरोधमा नेपाल प्रहरीले २७ मंसिरमा अशोकका विरुद्ध रेड नोटिस जारी गरेको थियो।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपाल मार्फत् बहराइन प्रहरीसमक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । इन्टरपोलमा राखिएको रेड नोटिसका आधारमा उनी बहराईनमा पक्राउ पनि परिसके। अब गुरुङलाई कूटनीतिक च्यानलबाट सुपुर्दगी गरेर काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको छ ।

हत्यामा संलग्न पक्राउ परेपनि मृतकका आफन्त बेखबर छन् । रोजन कहाँको, को भन्ने नै अझै खुलेको छैन । उनको हत्या भएर घर नपुग्दा पनि १५ वर्षसम्म कसैले पनि खोजीका लागि निवेदन दिएका छैनन् । कास्की प्रहरीले जिल्लाबाहेक अरु ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध गरिसकेको छ ।

एसपी थापा भन्छन्ः ‘सुनसरीदेखि मोरङ प्रहरीलाई पनि पनि जानकारी गराएका छौँ । तालबेसी खोलामा तटबन्धको जिम्मा लिने ठेकेदार कम्पनीदेखि स्थानियसँग पनि बुझ्ने काम भइरहेको छ । पत्तो लाग्ला ।’

यद्यपी, जाहेरीकर्ता नभेटिएपनि हत्या जस्तो जघन्य अपराधको घटनामा प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्नेछ । गुरुङले सजाय पाउनेछन् ।

सम्बन्धित समाचारः

सुरुवालको पासोले ‘कोपिला’ निमोठिँदाको नालीबेली

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ