काठमाडौँ । छिमेकी देश भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ ।
बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हालसम्म कुल ३ करोड ८२ लाख १८ हजार ७७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९१ जना संक्रमितको ज्यान गएको छ । योसँगै हालसम्म कोभिड संक्रमणबाट ज्यान गुमाउनको संख्या ४ लाख ८७ हजार ६९३ पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ ।
यसबाहेक कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ । हालसम्म यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ ।