नेकपा एमालेले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महानगरको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
एमालेको महानगर कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर स्थापित, नगर अध्यक्ष निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो भने प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धरको पनि लबिङ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिस भएकाभन्दा फरक व्यक्तिलाई अघि सार्न सक्ने समेत बताएका थिए । तर स्थापितले नै टिकट पाएका छन् ।
राजनीतिबाट झण्डै बरालिइसकेका स्थापितलाई २०७४ सालमा प्रदेशसभा सदस्य तथा मन्त्री र अहिले काठमाडौं महानगरको मेयर उम्मेदवार बनाएर एमाले अध्यक्ष केपी ओलीले पुनर्स्थापित गर्न खोजेका छन् ।
पार्टीले उम्मेदवारी दिएपछि स्थापित उत्साहित छन् । ‘मसँग महानगरको भिजन छ । मसँग सपना छ । विगतका कमजोरीबाट पाठ सिकेर अघि बढिन्छ’, उनले भनेका छन्, ‘म टेष्टेड मेयर हुँ । नगरबासीले मेरो काम देखेका छन् । त्यसैले गठबन्धन दलकै कार्यकर्ताहरूले पनि मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ ।’
एमाले अध्यक्ष ओलीसँग स्थापितको लामो संगत छ । २०४७ सालमा एमालेले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ स्थापना गर्दा ओली अध्यक्ष थिए भने स्थापित महासचिव । युवा परिचालन गर्नसक्ने र आँटेको कुरा गरिहाल्ने स्थापितको स्वभावबाट ओली त्यहींबाट प्रभावित भएका थिए । २०४९ को स्थानीय चुनावमा उनी महानगरको उपमेयरमा उठे । त्यतिबेला नवीन्द्रराज जोशीसँग झिनो मतान्तरले हारेका स्थापित पाँच वर्षपछि भने लोकप्रिय मतसहित महानगरको मेयरमा निर्वाचित भएका थिए ।
उपमेयरको टिकट पाएकी डंगोलले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मिस नेवाः समेत रहेकी उनले चुनावी घोषणापत्र समेत सार्वजनिक गरेको अवस्थामा एमालेबाट उपमेयरको टिकट पाएकी हुन् ।
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाइएको छ । नगर कमिटीबाट उनीहरुको मात्र नाम सिफारिस भएको थियो । मेयरको टिकट पाएका व्यञ्जनकार २०७४ मा पनि चिरिबाबु महर्जनसँग केही सय मतान्तरले पराजित भएकी थिइन् भने मञ्जली पूर्व माओवादी समूहबाट एमालेमा आएकी हुन् ।
पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए । जसमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाइँ भएपछि मतदान गर्ने तय समेत भइसकेको थियो । तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट गरिएको छ । लामो समय शिक्षक आन्दोलनमा जोडिएका उनी ओली निकट मानिन्छन् ।
उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर अरु ११ दाबेदारलाई छाडेर एमालेले उनलाई टिकट दिएको छ ।
भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । नगर कमिटीले उनको मात्र नाम सिफारिस गरेको थियो । टिकट पक्का जस्तै भएकाले उनले बाग्मती प्रदेशसभाको सदस्यबाट समेत राजीनामा दिइसकेका छन् ।
एमालेले उपमेयरको उम्मेदवार टुंग्याएको छैन । राप्रपासँग तालमेलको प्रयास गर्ने, नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।
वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर जितेका उनी टिकट पाउने शर्तमै उनी एमाले प्रवेश गरेका थिए । एमालेले उपमेयर भने चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छाडेको छ ।
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । मेयरमा सागर गापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने सम्भावना छ । तर अध्यक्ष ओलीले थप अध्ययन गरेर मात्र मेयर र उपमेयरको उम्मेदवारबारे निर्णय गर्ने सहमति भएको एक पदाधिकारीले बताए ।
एमाले सचिवालय बैठकले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुंग्याएको छ ।
सम्बन्धित खबर
पोखरा-भुटान सिधा उडान, पहिलो चार्टड उडान सफल
संसद् पुनःस्थापनाको माग गर्दै एमाले सर्वोच्च जाने
फागुन २१ को निर्वाचनमा भाग लिन काँग्रेस, एमालेले पहिलो दिन गरेनन् दल दर्ता
एमाले संसद पुन:स्थापनापछि केपी ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन तयार छ: खगराज अधिकारी
अनेरास्विवयुमा डा. कडरियाको राजीनामा स्वीकृत, महासचिव दीपक धामी चुनिए अध्यक्ष
जेनजीसँग मन्त्री पुन- ‘सबै माग पूरा गर्न सकिन्न, निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर’
यो पनि पढौँ
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल