बाबुछोरीको मृत्यु हुने गरी दुर्घटना गराएका कार चालक मल्ल काठमाण्डौमा पक्राउ

बाबुछोरीको मृत्यु हुने गरी दुर्घटना गराएका कार चालक मल्ल काठमाण्डौमा पक्राउ

anjil malla pakrau

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका, ढिकुरपोखरी लेवाडेमा आइतबार बिहान भएको सवारी दुर्घटनामा संलग्न कार चालक पक्राउ परेका छन् । मापसे गरी दुर्घटनापछि फरार रहेका पर्वतको कुस्मा १ मा बस्ने २७ वर्षीय एन्जल बम मल्ललाई ३ दिनपछि काठमाण्डौबाट पक्राउ गरी पोखरा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा महाराजगञ्जबाट पक्राउ गरी पोखरा ल्याई कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत मुद्दामा ७ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पर्वतबाट पोखरा फर्कँदै गर्दा ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीया सुजिना तिलिजा पुनको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक सुजिनाका बुवा ४७ वर्षीय जीतबहादुर पुनको उपचारकै क्रममा सोमबार मृत्यु भएको थियो । जीतबहादुर भारतीय आर्मीबाट रिटायर्ड हुन् ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले मादक पद्धार्थ सेवन र हिट एण्ड रन केसमा कानुनानुसार अधिकतम सजाय हुने बताए ।

कारमा सवार अन्य तीन जना साथीहरुलाई तत्काल नियन्त्रणमा लिइएपनि घटनापछि चालक मल्ल भने मकैबारीतर्फ हाम्फालेर भागेका थिए । उनी पोखराबाट काठमाण्डौ गएको खुलेको छ ।

कास्की प्रहरी प्रवक्ता तिवारीले घटनामा संलग्न कार चालकले रक्सी सेवन गरी कार हुँइक्याएको पुष्टि गरेका छन् । कारमा सवार अन्य साथीहरुले पनि मापसे गरेको र उनीहरुको बयानअनुसार चालकले पनि मापसे गरेको खुलेको हो । शनिबार पोखरा आएर लेकसाइड बसी रातभर रमाइलो गरेपछि बिहानै बागलुङतर्फ गएको बयान दिएका छन् । बाटोमा हेम्जाको घट्टेखोलामा फेरि बियर पिएर उकालो लागेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा थियो । घुम्तीमा बसलाई ओभरटेक गर्दै अघि बढ्दा गलत लेनमा रहेको कारले आफ्नै बाटोमा आइरहेको मोटरसाइकललाई ठक्कर दियो । कारको अघिल्तिरको भागमा पूर्ण क्षति पुगेकाले पनि तीव्र गतिमा कार हुइंकिएको पुष्टि हुन्छ ।

ठक्करपछि कारमा सवार युवाहरुले दुई जना घाइतेलाई सहयोग गर्नुको सट्टा भागे । दुर्घटनापछि स्थानीयहरू जम्मा हुनासाथ कार चालक मल्ल मकैबारीतिर हामफालेर भागेका हुन् ।

ट्युशन पढ्न बिहानै पोखरा फर्केकी थिइन् सुजिना

मातातीर्थ औंसीमा आमाको मुख हेर्न शुक्रबार पोखराबाट पर्वतको कुश्मा ४, पूरानोचौकी घर गएकी सुजिनाको यो भेट नै अन्तिम बन्यो । पोखराको अर्चलबोटमा आफन्तकोमा बसेर उनी माउन्ट अन्नपूर्ण क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् । जेठ १६देखि हुने परीक्षाको तयारीमा रहेकी उनले ट्युशन पढिरहेकी थिइन् । यही ट्युशन भेट्टाउन बिहानै बुबालाई पोखरा छाड्न भनिन् ।

बिहान ७ बजे नै बाबुछोरी ढिकुरपोखरी आइपुगे थिए । तर, रक्सी खाएका अल्लारेले हुँइक्याएको कारले ठक्कर दिँदा बाबुछोरी नै रहेनन् । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार बाबुछोरी नै उछिट्टिएर २० मिटर पर बजारिए । दुर्घटना भएको केहीबेरमै उनीहरूलाई पोखराको मेट्रोसिटी अस्पताल ल्याए पनि सुजिनालाई चिकित्सकले मृत घोषित गरे । जीतबहादुरको उपचार हुँदाहुँदै सोमबार बिहान निधन भयो । अहिले दुवैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

बाबुछोरीको ज्यान जाने गरी भएकाे दुर्घटनाका कार चालक एन्जिल बम मल्ल अझै फरार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ