पोखरा । नेकपा एमालेबाट पोखरा २२ का उम्मेद्वार र स्थानीय नेता–कार्यकर्ता एक हप्तादेखि मतदाताको घरदैलोमा पुगिरहेका छन् । जनताको गुनासो सुन्न र आफ्ना योजना सुनाउन वडाका उम्मेद्वारलाई भ्याइनभ्याइ छ ।
पोखरा २२ को सपम्दे गाउँमा बुधबार भोट माग्न पुग्दा एक वृद्धाले एमाले उम्मेद्वारलाई भनिन्, ‘यो पार्टीले वृद्धभत्ता दिन्छ थाहा छ । भत्ता लिन जान गाह्रो हुन्छ । यसलाई सजिलो बनाइदिनपर्यो । वडाका काममा जाँदा पनि छिटोछिटो काम हुनुपर्छ ।’
मतदाताका कुरा सुनेपछि एमालेबाट पोखरा २२ का वडाध्यक्ष उम्मेद्वार प्रकाशचन्द्र गुरुङले चुनाव जितेमा वृद्धभत्ता लिनेसहित वडामा सेवाग्राहीलाई हुने समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । ‘घरघरमै भत्ता पुर्याउन नसकिएला । तर, गाउँका टोलमा बैंकका कर्मचारी ल्याएर भत्ता दिन्छौँ,’ वडाध्यक्ष उम्मेद्वार गुरुङले भने ।
घरदैलोमा व्यस्त एमाले उम्मेद्वारलाई मतदाताले वृद्धभत्ता वितरण सहज बनाइदिन, गाउँको सडकलाई स्तरोन्नति गरिदिन, खानेपानीको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । एमालेले जनताकै गुनासो सम्बोधन हुने खालको प्रतिबद्धतापत्र तयार पारेको छ । सडक पूर्वाधार निर्माण, शैक्षिक विकास, यातायात समस्या समाधानलगायत विषयलाई समेटेर एमाले वडा कमिटीले घोषणापत्र तयार पारेको हो ।
वडा कार्यालयबाट सम्पादन हुने काम छिटोछरितो, पारदर्शी बनाउने, अघिल्लो कार्यकालका अधुरा योजनालाई निरन्तरता दिएर नयाँ योजना ल्याउने प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रविधिमैत्री शिक्षा, स्मार्ट स्कुल एपको सुरुआत र शुक्रराज माविको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने वाचा एमालेले गरेको छ । ‘सबै प्रकारका सामाजिक सुरक्षा भत्ता टोलटोलमा, फ्रि वाइफाइ आवश्यक ठाउँमा साथै गरिखाने सिप हातहातमा’ योजनालाई प्राथमिकता दिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
सात वटा मुख्य सडक स्तरोन्नतिलाई एमाले वडा कमिटीले प्राथमिकता दिएको छ । छोरेपाटन–शान्तिस्तुपा–लुकुन्स्वाँरा–वडा कार्यालय–तोरेभिर हुँदै चापाकोट जोड्ने मूल सडक, कुविण्डदेखि ढावा उल्लेरी जाने मूल सडक, छोरेपाटन–फुस्रेखोला हुँदै कुविण्डे जाने मूल सडक, नेटा–निउरेनी–पात्ले–चापाकोट जोड्ने सडक, काफलडाँडा–ससर्को सडक, धोवीखोला–साइँस्वाँरा–ठूलीबेँडी–संगमचोक सडक, फलेटे–पुम्दीकोट सडक र ट्रयाक खोलिएका शाखा सडकको स्तरोन्नति गर्ने एमालेको प्रतिबद्धता छ । ‘मूल सडकलाई विशेष प्राथमिकतामा राखेर महानगर, प्रदेश र संघीय सरकारसँग संयोजन गरेर योजना अगाडि बढाइने छ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘आवश्यकताका आधारमा शाखा सडक विस्तार र स्तरोन्नति हुने छन् ।’
पुम्दीकोट विशाल महादेव शिव मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थलको रुपमा अघि बढाउने, शान्ति स्तूपलाई व्यवस्थित र थाप्ले डाँडामा पार्कसहित खेलमैदान गुरुयोजना कार्यान्वयन गर्ने एमालेको प्रतिबद्धता छ । खेलकुदसहित स्वरोजगार तालिम सञ्चालन, होमस्टेलाई व्यवस्थित बनाउने, सडक किनारमा बत्ती, विपत् व्यवस्थापन कोषको थालनी, बसाइँसराइँ न्यूनिकरणलाई एमाले पोखरा २२ ले प्राथमिकता दिएको छ ।
वडाभित्रका गाउँ जोड्न ट्रेकिङ रुट बनाएर पर्यटन प्रवद्र्धन गर्ने एमालेको घोषणा छ । ‘वडाभित्रका पर्यटकीय आकर्षणका क्षेत्रहरु रानीवन, शान्तिस्तूप, पुम्दीकोट, शिवालय डाँडा, देउराली मन्दिर, फालहान्ने पोखरी, रेयुकाई डाँडा, न्हेआलडाँडा, भुम्दीकोट, थाीलेडाँडा र पञ्चासे हिल, चिसापानी, फिलिङ्घारी, पोखरा भ्यूपोइन्ट, माछापुच्छ«े भ्यूपोइन्टलगायत ठाउँलाई ट्रेकिङ रुट कनेक्सनसहित पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइने छ,’ प्रतिबद्धता पत्रमा एमालेले लेखेको छ ।
पोखरा २२ मा एमालेबाट वडाध्यक्षमा प्रकाशचन्द्र गुरुङ, खुल्ला वडा सदस्यमा लीलाधर पौडेल र सञ्जीव गुरुङ, महिला सदस्यमा कृष्णकुमारी पौडेल र दलित महिला सदस्यमा सीता विक उम्मेद्वार छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न