पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन्।
पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन्।
मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो। यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो। पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो। सोचौं कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ।’
पोखराको सुन्दरता बचाइ राख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले भने, ‘हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ। पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ। पर्यटनमार्फत् त्यो सम्भावना पनि छ।’
अबको पोखरा कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन मादी र आँधी बीच अनि त्यस वरपरको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्ने उनको भनाइ थियो। स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन। त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको बताए। पोेखराका पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार थपेर शुल्क उठाउने विषयमा, बसपार्क, सार्वजनिक शौचालय निर्माणदेखि व्यवस्थित यातायातका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका बीच समन्वय हुन सक्ने उनको भनाइ थियो।
फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि इश्युका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ। यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ। ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ। यसका लागि हामी महानगरको नेतृत्वसँग बारम्बार छलफल भइरहेको मुख्यमन्त्री पोखरेलले बताए।
पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने सुझाव उनले दिए। उनले भने, ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन। फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको छ, अब काम कसरी गर्ने चुनौती यसैमा छ।’
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु, माओवादी एसका कावा अध्यक्ष खड्ग हमालले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार पार्न लाग्नुपर्ने बताए।
मेयर धनराज आचार्यले २ दिनसम्म चल्ने नेतृत्वविकास तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको बताए। अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि यस्ता कार्यक्रम प्रभावकारी आवश्यक रहेको उनले बताए। पूर्व राजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जीत आचार्य, रवीन कटुवाल, खीमलाल सापकोटाले तालिम प्रदान गर्नेछन्। सहभागीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइएको थियो। अब चुनाव सकिएकाले कार्यपालिकामा पक्ष विपक्ष कोही पनि नरहेको र अब पोखराको विकासको एक मात्र लक्ष्य लिएर अगाडि बढ्ने उनको भनाइ थियो । उपमेयर मञ्जुदेवी गुरुङले विभेदरहित न्यायपूर्ण, समुन्नत पोखरा बनाउने लक्ष्यका साथ अगाडि बढेको बताइन्।
This will close in 3 seconds
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग
गण्डकीमा डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?
पोखराको तालचोकमा भाटभटेनीको २८औं सुपर स्टोर खुल्दै
स्वास्थ्यमन्त्री पाठकले गरे पर्वत जिल्ला अस्पताल निरिक्षण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग