पशुपतिनाथमा तीजे ब्रतालुकाे भीड, १५ देखि २० मिनेटमै दर्शन

पशुपतिनाथमा तीजे ब्रतालुकाे भीड, १५ देखि २० मिनेटमै दर्शन

pashupati_temple_in_Teej

काठमाण्डाै – आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

काठमाण्डाै – आज काठमाण्डाैकाे पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवम् व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपास महिलाहरू नाचगान गर्दै रमाइलो गरिरहेका देख्न सकिन्छ ।

अन्य वर्षको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरू बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौ कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमै दर्शन गर्न सकिएको भन्दै उनीहरूले खुसी व्यक्त गरे ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालासँग छलफल गरेर सुरक्षाको व्यवस्थापन गरेकाले सजिलाे भएकाे बताए । आज दिनभरका लागि नै सबै ढोका दर्शनार्थीका लागि खोलेको र जुन ढोकाबाट दर्शन गरेको हो त्यही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको बताए । उनले व्रतालुको स्वास्थ्य हेरचाहका लागि पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अस्पतालका स्वास्थ्यकर्मीको टोली खटाइएको बताए । उनले व्यवस्थापन सहजताका लागि नेपाल प्रहरी र विभिन्न सामाजिक संस्था परिचालन गरिएको बताए ।

हिजो (सोमवार) दर खाएपछि औपचारिक रूपमा सुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । तिजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ