धाँधली नगरी नजित्ने काँग्रेसलाई चुनावमा जान आफ्नै सत्ता चाहिन्छ – ओली

धाँधली नगरी नजित्ने काँग्रेसलाई चुनावमा जान आफ्नै सत्ता चाहिन्छ – ओली

kp @pkr (1)

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले धाँधली नगरी चुनाव नजित्ने भएकाले चुनावमा जान आफ्नै सत्ता चाहिने गरेको बताएका छन् ।

पोखरामा मंगलबार लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै उनले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफू सत्तामा नभए अरुलाई निर्वाचन गर्न दिँदैन । देशमा आतंक भएको बेला छुट्टै परिस्थिति बाहेक अरुले निर्वाचन गराउन पाएको छैन । धाँधली गर्नकै लागि कांग्रेसले यसो गरेको हो’ – उनले भने – ‘नत्र त काँग्रेसले जित्दै जित्दैन । धाँधली नगरी कहाँ जित्न सक्छ र काँग्रेस ?’

गठबन्धनले धाँधली गरेर जित्ने भएकाले त्यसलाई रोक्ने काम एमालेका कार्यकर्ताको काँधमा आएको उनको भनाई छ । ‘मगर, युवा, विद्यार्थी, महिला संघ र यत्रो एमालेको पंक्ति हुँदा हुँदै कसैले बुथ कब्जा गर्छ भने त्यो हाम्रो कमजोरी हुने छ’ उनले भने । सत्ता गठबन्धनले आउने चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको उनको दाबी छ ।

कुन–कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको उनले दाबी गरे। ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु’ पूर्व प्रधानमन्त्री ओलीले भने– ‘यहीँ स्याङ्जाको चापाकोटमा अहिलेसम्म जनताले भोट हाल्न पाएका छैनन् । दुई चार जना मिलेर भोट हाल्छन् । यस्तो पनि लोकतान्त्रिक पार्टीको चरित्र हुन्छ ?’

माधवको पार्टीले थ्रेसहोल्ड नकटाउने भविष्यवाणी

ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालको पार्टीले थ्रेसहोल्डसमेत नकटाउने ठोकुवा गरे। निर्वाचनसम्म नेपालको पार्टीमा खास कार्यकर्ता नरहने र सो पार्टीले तीन प्रतिशत मतसमेत नकटाउने भविष्यवाणी गर्दै उनले लेखेर राख्न आग्रह गरे।

एमाले फुटाएको पारिश्रमिकस्वरूप अन्य पार्टीले माधवलाई एक सिट जिताइदिए पनि अन्य स्थानमा कतै नजित्ने ओलीको दाबी छ। ‘आफ्नै एमाले नेतृत्वको सरकार ढाल्ने काम माधव नेपाल, झलनाथ खनालहरु पार्टी फुटाउने खेलमा लागे,’ उनी आक्रोशित बने, ‘चुनावमा के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ? कुन कामका लागि भोट दिने ? पार्टी फुटाएकोले, सरकार ढालेकोले, केका लागि भोट दिने वा प्रतिक्रियावादीको सभामा सामेल भएर एमालेलाई गाली गरेवापत् ?’

देशको अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा सत्तागठबन्धनले बजेट बनाउन केही व्यापारिक प्रतिनिधि राखेर कर्जा दर तोक्ने सेटिङ ग¥यो । देशको ढिकुटी रित्याउने खेलमा लागेको उनको आरोप थियो । ‘अपवित्र साँठगाँठ र मलत मनसायले परमादेशबाट बनेको यो सरकार जनताको जनादेशबाट नभई अदालतको प्रांगणमा भेटिएको हो,’ उनले व्यङ्ग्य गरे ।

समृद्ध नेपाल, सुखी नेपाली नारासहित विगतमा आफ्नो नेतृत्वको सरकारकाले विकास निर्माणको कार्यलाई अघि बढाएकोमा माधव नेपाल, झलनाथ खनालहरुले आफ्नै पार्टी फुटाएको ओलीको आरोप थियो । उनले प्रचण्डलाइ २०५६ सालमै राष्ट्रिय समस्या भनेकाे स्मरण गर्दै अहिले पनि प्रचण्ड समस्याकै रूपमा रहेकाे बताए ।

मंसीर ४ पछि एमालेको सरकार नबने देश रणभूमि बनाउनेछन्

ओलीले गठबन्धनले अहिले एसपीपी सम्झौता जनता भड्किन्छन् भनेर रोकेपनि चुनावपछि एसपीपी जस्ता राष्ट्रघाती सम्झौता पारित गरेर देश रणमैदान बनाउने आरोपसमेत लगाएका छन् । त्यसैले देश बचाउन एमालेको सरकार आवश्यक रहेको पनि उनले बताए ।

राष्ट्रियता बचाउने, सुशासन कायम गर्ने, विकासको अभ्यास अगाडि बढाउनका लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एमालेले जित्नैपर्ने उनको जोड थियो । उनले अहिले पनि एमाले ठूलो पार्टी भएको उल्लेख गर्दै उनले चुनावपछि बहुमतवाला पार्टी हुनुपर्ने बताए ।

‘सत्तागठबन्धनले देश बर्बादीतर्फ धकेलिरहेको छ । परराष्ट्र सम्बन्ध बिगारेको, राष्ट्रियतामा संकट उत्पन्न पारिरहेको छ’ उनले भने, ‘यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुटतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।’

उनले चुनावमा साझा गन्तव्य बनाई कसले कुन जिम्मेवारी लिंदा ठिक हुन्छ, त्यही लिएर अघि बढ्न कार्यकर्तालाई सुझाव दिए । उनका अनुसार अहिले एमालेमा ९ लाख भन्दा बढी सदस्य छन् । आफ्ना विगतका कामकारबाहीको राम्ररी समीक्षा गरेर आजको परिस्थिति मूल्यांकन गरेर भविष्यको योजना बनाउनुपर्ने उनले बताए ।

वृद्धभत्ता पाउने उमेर घटाएर गठबन्धनले भोटको राजनीति गर्याे

ओलीले वर्तमान गठबन्धनको सरकारले वृद्धभत्तालाई भोटको राजनीतिमा प्रयोग गरेको पनि बताए । नेपालीको औसत आयु ७२ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिए पनि गठबन्धन सरकारले ६८ वर्ष बनाएकोमा उनले असन्तुष्टि जनाए।

सत्तागठबन्धनले वृद्धभत्ताको लागि उमेर घटाएकोमा उनले रोष प्रकट गरे । ‘हामीले १ सय रुपैयाँबाट बढाएर ४ हजार पुर्‍यायौं । उसले के के न गर्‍याे भनेर ६८ वर्षमा झारेको छ । नेपालीको सरदर आयु ७२ वर्ष हो । यसरी वृद्धभत्ताको लागि बर्सेनि उमेर घटिरहने हो भने मान्छे जन्मिने वित्तिकै वृद्ध भत्ता खाने दिने आउँछ,’ उनले भने, ‘अर्थतन्त्र ओह्रालो लागेको बेलामा वृद्धभत्ता घटाउनुपर्ने आवश्यकता छैन । कांग्रेसले भोट बेस्सरी झर्छ भनेर ठानेको होला । अहिले केही नभेटाएर उमेर घटायो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ