काठमाण्डौ। डढेलोका कारण काठमाण्डौ उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेको वातावरण विभागले जनाएको छ। विभागका अनुसार देशका १४० भन्दा बढी स्थानमा लागेको डढेलोका कारण प्रदूषण बढेको हो।
विभागद्वारा जारी सूचनामा भनिएको छ – “बारा, पर्सा, चितवनलगायतका स्थानमा लागेको डढेलो र प्रदूषणका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वीभागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको पाइएको छ।”
प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले विभागले सकेसम्म घरबाहिर ननिस्किन अनुरोध गरेको छ । घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
साथै विभागले सर्वसाधारणलाई ‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न अनुरोध गरेको छ ।