राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएपछि विवादमा तानिएका श्रेष्ठलाई रास्वपाको केन्द्रीय समिति बैठकले बुधबार कारबाही गरेको हो ।
अनुशासन तथा आचरण समितिको सिफारिस एवं पार्टीको विधानविपरीत काम गरेको देखिएकाले कारबाही गरिएको सभापति रवि लामिछानेले बताए । पार्टीबाट निष्कासन भएसँगै श्रेष्ठको सांसद पद पनि धरापमा परेको छ । उनी समानुपातिक सांसद हुन् । उनको पद रिक्त हुने भन्दै रास्वपाले नयाँ सांसदमा बिन्दाबासिनी कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । कंसाकार एसिडपीडित हुन् ।
तर, राजनीतिक दलसम्बन्धी ऐनमा दुई अवस्थामा मात्र सांसद पद जाने व्यवस्था छ । पार्टीको ह्वीप उल्लंघन गरेका र दल त्याग गरेका सांसदको मात्र सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णय र सिफारिसबाट पद रिक्त हुने व्यवस्था छ । अनुशासनमा कारबाही गर्ने रास्वपाको निर्णयलाई सांसद श्रेष्ठले कानुनी रूपमा अदालतमा चुनौती दिन सक्नेछन् ।
सांसद श्रेष्ठले कानुन व्यवसायीसँग सल्लाह गरी अदालत जाने निकटलाई बताएका छन् । ‘म कानुनी उपचारका लागि अदालत जान्छु,’ उनीनिकट स्रोतले भन्यो । उनले पार्टीबाट अन्याय भएको आरोप लगाउँदै थप रहस्य खोल्ने बताएका छन् । लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उहाँले कोर टिम भन्नुभएको छ, त्यसमा को हो भनेर अनुसन्धान गर्न हामीसँग कुनै आधार भएन,’ बुधबारको पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए हामी सहयोग गर्छौं ।’
सभापति लामिछानेको पत्रकार सम्मेलनअघि सांसद श्रेष्ठले पार्टीलाई बदनाम गराउन खोजेको बताएका थिए । केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको उनको दाबी थियो । केन्द्रीय कार्यालय बसुन्धारामा बुधबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताएका हुन् । माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । त्यस सम्बन्धमा पार्टी केन्द्रीय समितिको बैठक बसिरहेका बेला श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन् ।
उपनिर्वाचन हुन लागेका तीन क्षेत्रमा पार्टीलाई पराजित गर्नका लागि अहिले अडियो सार्वजनिक गरिएको श्रेष्ठको दाबी थियो । ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो, जनवरीमा भएको, लगभग जनवरी–फेब्रुअरीमा भएको अडियो अहिले ल्याउनु भनेको सुनियोजित किसिमले पार्टीलाई चारतिरबाट प्रहार गर्नु हो,’ उनले भने, ‘पार्टीलाई तीनवटै निर्वाचन क्षेत्रमा हराउन खोजिएको हो ।’
श्रेष्ठले आफू पार्टीको सदस्यबाट बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको पनि बताए । उनले न्यायालयबाट क्लिन चिट लिएर आउने दाबी गरेका छन् । आफ्नो कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उनले क्षमा पनि मागेका छन् । ‘म न्यायालयबाट क्लिन चिट ल्याई तपाईंहरूमाझ फेरि प्रेसमिट गर्नेछु, मेरा कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको छ, त्यसका लागि क्षमाप्रार्थी छु,’ उनले भने ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ