काठमाडौंबाट उड्नेबित्तिकै एउटा इञ्जिन फेल भएकाे फ्लाइ दुबईकाे उडान निरन्तर

काठमाडौंबाट उड्नेबित्तिकै एउटा इञ्जिन फेल भएकाे फ्लाइ दुबईकाे उडान निरन्तर

Fly Dubai

फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिँदै उडानलाई निरन्तरता दिएका छन् । लखनउ र दिल्ली पनि अवतरण नगरी गन्तव्यतर्फ अघि बढाइरहेकाे फ्लाइट राडरले देखाएकाे छ ।

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो ।

जहाज दिल्लीबाट पार भइसकेको छ । जहाजकाे एउटा इन्जिनमा लागेकाे आगाे निभ्नु नै खतरामुक्त हुनु हाे ।  उक्त इन्जिन बन्द भए पनि अर्काे इन्जिनकाे सहायताले जहाज उडाउन सकिन्छ । पाइलटले अहिले सिंगल इन्जिनमा जहाज उडाइरहेका छन् । विज्ञहरूका अनुसार कुनै पनि जहाज उडेर उचाईमा पुगिसकेपछि तत्काल अवतरण सहज हुँदैन ।

एउटा इन्जिनमा समस्या आएर असामान्य आगोकाे झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हाे। असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो ।

यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताएका छन् ।

उनीहरुले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९:२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०:१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार, आगो नियन्त्रण गर्न विमानस्थलमा ५ टा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए ।
यो घटनापछि काठमाडौं विमानस्थलमा अवतरण गर्न लागेका दुइटा अन्तर्राष्ट्रिय र पाँच वटा आन्तरिक विमानलाई सिमराको आकाशमा होल्डमा राखिएको थियो । उक्त जहाजलाई सकुशल अवतरण गराउन प्राधिकरण मुख्यालयका महानिर्देशकसहित विमानस्थलका कर्मचारी सोमबार साँझ विमानस्थलमा भेला भएका थिए ।

यसैबीच, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds