सरकारलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री

सरकारलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री

pm-pokhara-e1688203040571

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । उनले यो सरकार कसैले हल्लाउन नसक्ने दाबी पनि गरे ।

पोखरामा आज प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश कमिटिले आयोजना  गरेकाे पत्रकार भेटघाटमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धान थप तीव्र बनाउने पनि बताए । उनले अब अनुसन्धान नरोकिने बरु अझ कडा रुपमा अघि बढ्ने जनाए ।

भ्रष्टाचार देशको विकराल समस्या भएको भन्दै यसविरुद्ध कडा रुपमा अघि बढने बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।’

उनले अगाडि थपे, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ।’

बजेट पास होला कि नहोला भन्ने आशंका अब मेटिएको भन्दै उनले यसपटक भिन्न ढंगले नै काम सुरू गरेको दाबी पनि गरे । ‘यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लयमा फर्किएको दाबी पनि गरे, ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, बिस्तारै लयमा फर्किएको छ।’

यसपटकको भारत भ्रमण ऐतिहासक भएको पनि उनले दोहोर्याए । ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्, तर, यसपटक प्रधानमन्त्रीले भन्नुभयो।’ उनले सुनाए, ‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ।’

प्रधानमन्त्री प्रचण्डले छिट्टै चीन भ्रमणमा जाने पनि जनाए । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस गर्ने उनले प्रतिवद्धता जनाए ।

‘पार्टी एकताका लागि ठोस पहल हुँदैछ’

प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताए हुन् । प्रधानमन्त्रीले भने, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ।”

“हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ” प्रधानमन्त्रीले भने, “त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।”

“हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन” प्रधानमन्त्रीले भने, “देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।”

“हाम्रा प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन छ” प्रधानमन्त्रीले भने, “यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।”

“हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ” उनले भने, “समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”

“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ” प्रधानमन्त्रीले भने, “सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds