गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुवै प्रहरी अधिकृतको जिम्मेवारी खोसेको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।
केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।
शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो । हाल जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो ।
हालै उनले थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि देउवा सशंकित बनेका थिए । खाँणलाई पक्राउ गर्न एसएसपी केसी नेतृत्वको टोली नै उनको निवास पुगेको थियो । त्यही कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो । हालै उनले थप १८ जना पीडितको जाहेरी लिएका छन् । यो जाहेरीपछि पुर्पक्षका लागि थुनामा रहेकाहरुको फेरि बयान लिनुपर्ने हुन्थ्यो । त्यसक्रममा बाहिर चर्चामा आएका नामहरुमाथि पनि छानबिन सुरु हुनसक्थ्यो ।
यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको नाम लिएको अडियो समेत सार्वजनिक भएको थियो । आफूलाई बदनाम गर्न खोजिएको भन्दै आरजु देउवाले छानबिन गर्न मागसहित साइबर ब्यूरोमा पत्राचार गरेकी थिइन् ।
तर, ब्यूरोको छानबिनमा त्यो अडियो शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्माको भएको पुष्टि भएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयले दिएको पत्र नै सार्वजनिक भएको थियो ।
केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।
शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत ३० जना विरुद्ध मुद्दा दर्ता गरिएको छ। खाण, रायमाझी र पाण्डे सहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
सम्बन्धित खबर
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
देशकै पहिलो ओभरपास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थमै मृत्यु, ६ घाइते
देवरले गरे भाउजूको हत्या
आजको मौसम पूर्वानुमान
‘देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन’
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च