बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौंः प्रचण्ड

प्रधानमन्त्रीको बोली

बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौंः प्रचण्ड

जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो

parchanda_

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने अभिव्यक्ति दिएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए ।

बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’

प्रधानमन्त्री प्रचण्डले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए ।

‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’ उनले भने, ‘मलाई सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’

 प्रधानमन्त्री दाहालले भष्ट्राचारको विरुद्ध नयाँ लडाई सुरुवात भएको बताए । ‘यो रोकिनेवाला छैन । यसले दायाँवाया तेरो मेरो हेर्नेवाला छैन’ दाहालले भने, ‘गठबन्धन सरकार र मोर्चा एकढिक्का भएर अगाडि बढेका छौ ।’ जनयुद्धका माध्यमबाट आन्दोलनका भरमा गणतन्त्रको युगमा आएको भन्दै उनले यसलाई उल्ट्याउन षडयन्त्र भएको बताए । षडयन्त्रलाई परास्त गर्न बलियो मोर्चाको आवश्यकता रहेको उनको भनाई छ ।

‘जनयुद्धको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगियो । मधेसबाट सुरु गरेर लुम्बिनी हुँदै कर्णालीमा आएर मोर्चाको घोषणा गरेका छौ’ उनले भने, ‘मोर्चा निर्माण भएकोमा म जति खुसी को होला । हाम्रो अभियान यतिमा रोकिदैन । न्याय र सुशासनको पक्षमा एक भएर मोर्चाले लड्ने छौ ।’

उनले सिमान्तकृत नागरिकले पाएका अधिकार पनि खोस्ने षडयन्त्र भएको औंल्याए । ‘यस्ता षडयन्त्रलाई परास्त गर्नका लागि मोर्चाको तर्फबाट अहिले गठबन्धनका तर्फकाट हिजो र सरकारमा बसेर एउटा लडाईंको नेतृत्व फेरि गरेको छु’ उनले भने ‘मलाई लिनुपनि छैन दिनुपनि छैन जे छ देशका लागि राष्टका लागि बाँकी जीवन यतै लगाउनेछु , राम्रो कामको सुरुवात गर्छु राम्रो काम गर्दा गर्दै कल्ले हटाउँदो रहेछ ।’ समाजबादी मोर्चाको केन्द्र कर्णाली बन्न सक्ने उनले बताए ।

प्रचण्ड सरकार अन्य सरकार जस्तो होइन: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले प्रचण्ड सरकार अन्य सरकार जस्तो नभएको दाबी गरे । उनले सत्ता र सरकार फरक रहेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा लडाइँ गर्न आग्रह गरे ।

 विप्लवले नेपाललाई युक्रेन बनाउने षड्यन्त्र साम्राज्यवादी तत्वहरुले गरिरहेको बताए । उनले एमसीसी जनताको हितमा नभएकोसमेत बताए । ‘यसविरुद्ध सडकमा हामी लड्छौं । प्रधानमन्त्री प्रचण्डले सरकारमा लड्नुपर्छ’, उनले भने ।

पूर्वमाओवादी नेता विप्लवले जनयुद्धको नेतृत्व प्रचण्डले र जनआन्दोलनको नेतृत्व माधवकुमार नेपालले गरेको जिकिर गरे । आआफ्नो ठाउँबाट आआफ्नै तरिकाले लडे पनि वर्तमान परिस्थिति अनुकूल त्यो लडाइँ सफल हुन नसकेको उनको भनाइ छ ।

समाजवादी मोर्चा क्रान्तिको प्रतीक भएको बताउँदै उनले इतिहासको समीक्षा गर्दै उपनिवेशको प्रतिगमन र पश्चगामी तत्वको अन्त्य गर्न समाजवादी मोर्चा गठन भएको बताए ।

‘अहिले क्रान्तिबाट प्राप्त परिवर्तनलाई बचाउनु छ’, नेता विप्लवले भने, ‘जनयुद्ध, सहिद र घाइतेको सपना पूरा भएको छैन । कम्युनिष्ट कमजोर भएको हल्ला चलाए पनि कमजोर भएको छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds