पोखरा । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् ।
सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिए । नेपाली कला, संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गुरुङलाई सोंपाल तमु समाजसहित विभिन्न संस्थाले बेलायतमा समेत सम्मान गरेका थिए । सो सम्मानका लागि समेत उनलाई संस्थाले बधाई ज्ञापन गरेको थियो । स्याङ्जाको दरौँ सिरुबारीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका गुरुङले ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए । अग्निदहन, किडन्यापलगायतका नेपाली चलचित्रमा समेत काम गरेका उनले दर्जनौँ गुरुङ चलचित्रमा अभिनय गरेका छन् । दरौँ सिरुबारी माझकटेरी… लगायतका म्युजिक भिडियोमा समेत उनको अभिनय हेर्न सकिन्छ ।
सम्मान समारोहमा ताराबहादुर गुरुङको योगदानको चर्चा गर्दै प्रा. डा. कुसुमाकर न्यौपानेले ताराबहादुर सिङ्गो नेपालको तारा मात्र नभएर गौरव गर्नलायक गहना पनि भएको धारणा राखे । ताराबहादुरको सङ्घर्षको कथा स्मरण गर्दै उनले कुनै समय बाँसुरी र मादल वादकका रूपमा आफूले चिनेको तारा आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्न सक्ने कलाकार बनेकोमा आफूलाई गौरव लागेको भनाइ राखे ।
सम्मानित नायक गुरुङले आफू जहाँ गए पनि नेपाली लोक कला र संस्कृतिबाट टाढा रहन नसक्ने भनाइ राखे । जति सकिन्छ त्यति नेपाली संस्कृतिलाई योगदान गर्न सदैव आफू लागिपरेको बताउँदै उनले बेलायत गए पनि आफ्नो मनमा सधैँ नेपाल र नेपाली संस्कृति नै रहेकाले आग्रह हुँदा हुँदै पनि यात्रा छोट्याएर नेपाल फर्केको अनुभव सुनाए । उनी गत साउन २६ गते बेलायत गएर करिब १ महिनापछि हालै नेपाल फर्केका थिए । कार्यक्रममा उनले आयोजक संस्थालाई ५० हजार ६०५ रुपियाँ नगद सहयोग गरेका थिए ।
तारासँगै बेलायत यात्रामा सहभागी डा. चन्द्रबहादुर गुरुङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी विश्वमोहन गौचन, डा. चन्द्रबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । लोक नृत्य कलाकार सङ्घका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव राहुल थापा मगरेल सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु