काठमाडौं । इजरायल आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मिडियाहरूमा शोक बिदा दिइएको भनेर समाचारहरू प्रकाशन भएपनि सञ्चारमन्त्रीले राष्ट्रिय शोक मात्र घोषणा गरेको जानकारी दिएकी छन् ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’
उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।
निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने
इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’
परिवारलाई दुई लाख दिने सुदूरपश्चिम सरकारको घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ ।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै शव ल्याउन सहजीकरण गरिदिन संघ सरकारलाई अनुरोधसमेत गरेका छन् ।
दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्, जसमध्ये ७ जना सुदूरपश्चिमबाट अध्ययन तथा सिकाइका लागि गएका विद्यार्थीहरु थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनको राजीनामा माग, संसद्मा आक्रामक बने प्रतिपक्षी दल
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
‘प्रधानमन्त्रीले सदन छल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत’
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर