बेलबारीमा ३ वटा सवारी ठोक्किँदा ३ जनाको मृत्यु, २ जना गम्भीर

बेलबारीमा ३ वटा सवारी ठोक्किँदा ३ जनाको मृत्यु, २ जना गम्भीर

Morang-accident

विराटनगर । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

आज बिहान पूर्व–पश्चिम लोकमार्गको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।

बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो ।

गम्भीर घाइते कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतक दीपा घाइते अवस्थाका हरिकी श्रीमती हुन् । मृतक यदुकान्त घाइते भएकी गायत्रीका श्रीमान् हुन् । गजुरेल बोलेरो चालक हुन् ।

बसले बोलेरोलाई ओभरटेक गर्न खोज्दा तीन वटा सवारी जुधेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ