एमालेसँग गठबन्धन गरी प्रचण्डले भने- आजैदेखि कम्युनिष्ट एकताका लागि पहल गरेका छौँ

एमालेसँग गठबन्धन गरी प्रचण्डले भने- आजैदेखि कम्युनिष्ट एकताका लागि पहल गरेका छौँ

prachanda 11

नेकपा एमालेसँगको नयाँ सत्ता गठबन्धनको तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजकै मितिदेखि कम्युनिष्ट एकताका लागि पहल गरेको प्रतिक्रिया दिएका छन् ।

कांग्रेससँगको सत्ता गठबन्धन तोडिने लगभग निश्चित भएको समयमा प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको प्रतिक्रिया दिएका हुन् ।

तीव्र राजनीतिक घटनाक्रमका बीच प्रचण्डले सुखानी शहीद परिवारसँगको भेटमा भने, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’

यसअघि एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रीमण्डलले शपथ लिने बताएका थिए ।

फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरूको स्मरणमा एक साता शहीद सप्ताह मनाइएको छ । त्यसै सन्दर्भमा प्रचण्डले सुखानी शहीदका परिवारसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती शहीद परिवारका सदस्यहरू विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds